विराटनगरमा ८ गते हुने ‘काउन्टर’ सभाको आक्रामक प्रचारमा नेकपा ओली समूह

विराटनगरमा ८ गते हुने ‘काउन्टर’ सभाको आक्रामक प्रचारमा नेकपा ओली समूह

विराटनगर । प्रतिनिधिसभा बिघटन र निर्वाचनको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्यसहित नेपाल कम्यूनिष्ट पार्टी (ओली समूह)ले फागनु ८ गते विराटनगरमा आयोजना गर्ने जनसभाको आक्रामक प्रचार अभियान सुरु गरिएको छ । प्रचण्ड–माधव नेपाल समूहले यस अगाडी विराटनगरमा आयोजना गरेको जनसभाको ‘काउन्टर’ दिन ओली समूहको प्रचार आक्रामक देखिएको हो ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र स्थायी कमिटि सदस्य तथा प्रदेश १ इन्चार्ज सुवास नेम्वाङले सम्बोधन गर्ने सभामा एक लाख संख्या भन्दा बढी नागरिक सहभागी गराउने लक्ष्य राखिएको छ । त्यसका लागि पार्टीको विराटनगर महानगर कमिटिले प्रचार र व्यवस्थापनलाई प्राथमिकतामा राखेको हो ।

प्रदेश १ कमिटिले आयोजना गर्ने जनसभा विराट नर्सिङ होमको पूर्वतर्फको खाली फिल्डमा गरिने भएको छ । महानगर कमिटिका अध्यक्ष सागर थापाका अनुसार जनसभाको प्रचारका लागि त्यस अगाडी विभिन्न कार्यक्रमहरु आयोजना गरिने भएको छ । ओली समूहको कार्यक्रममा विराटनगर महानगरपालिका भित्रैका नागरिकको उपस्थिति बढाउनका लागि टोलटोलमा प्रचार अभियान सुरु गरिएको थापाले बताउनुभयो । जसका लागि फागुन १ गते महानगर, २ र ३ गते वडास्तरका बैठक आयोजना गरिने कार्ययोजना अगाडी सारिएको छ ।

यसैगरी टोलटोलमा हाते पर्चा वितरण, मोटरसाइकल तथा प्रभातकालिन ¥याली, मार्चपास समेत गराउने योजना राखिएको छ । कार्यक्रममा विराटनगरका सबै वडाबाट झाँकीसहित सहभागीता गराउने गरि घरदैलो कार्यक्रम समेत राखिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार विराटनगर महानगरपालिकाका ५० हजार घरधुरीमा पुगेर हाते पर्चा वितरण गरिने छ । जनसभामा महानगर क्षेत्रबाट १२ हजार ५०० जनालाई सहभागी गराउने लक्ष्य राखिएको छ । त्यस बाहेक स्वतःस्फूर्त सहभागिता जनाउनेहरु समेत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्