बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान

बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान

कावासोती
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान दुई/दुई जनासहित उडान भरेका हुन् ।

पर्यटकीय क्षेत्रका लागि नयाँ सम्भावनाको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ्गको उडान परीक्षण गर्न लागिएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनिया थारुले बताउनुभयो । कावासोती पर्यटकीय दृष्टिले सम्भावनाको क्षेत्र भएकाले यसको परीक्षण थालिएको उहाँले बताउनुभयो । नगरपालिकाले पर्यटकीय पूर्वाधार विकासमा समेत लगानी गरिरहेको भन्दै प्याराग्लाइडिङ्गको परीक्षण पूर्णरूपमा सफल भएमा यहाँ पर्यटनको नयाँ सम्भावनाको ढोका खुल्ने उपप्रमुख मर्दनिया थारुले बताउनुभयो ।

पहिलो दिन आज पाइलट हरि थापाले पहिलो उडान गर्नुभएको थियो । बालुवाडाँडाबाट गरिएको उडानको कावासोती–१ मा रहेको पोखरीतालमा सफल अवतरण गरिएको हो । बालुवाडाँडा क्षेत्रमा हावाको बाहव, उडान र अवतरण क्षेत्र सबै दृष्टिले प्याराग्लाइडिङको लागि उपयुक्त रहेको प्राविधिक एवं पाइलट हरि पहारी बताउनुभयो । प्याराग्लाइडिङको लागि बालुवाडाँडा उत्कृष्ट स्थान बन्न सक्ने सम्भावना रहेको पहारीले बताउनुभयो । बालुवाडाँडाको ९२७ मिटर उचाइबाट उडान भरिएको थियो ।

कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले अवतरणस्थल पोखरी ताल पुगेर पाइलट दललाई स्वागत गर्नुभएको थियो । सो क्रममा नगर प्रमुख पुनले कावासोती नगरपालिकामा पर्यटकीय दृष्टिले हरेक सम्भावना रहेको भन्दै योजना अगाडि बढाउने युवालाई धन्यवाद व्यक्त गर्नुभयो । कावासोती नगरपालिकाले समेत पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्दै आएको बताउँदै यसको थप व्यवस्थापनमा समेत लागि पर्ने बताउनुभयो ।

कावासोतीका युवाले स्थानीय उमेश रानाको अध्यक्षतामा बालुवाडाँडा प्याराग्लाइडिङ युवा समूह गठन गरेर यहाँको सम्भावनाबारे अध्ययन र प्रक्रिया अगाडि बढाएका थिए । नागरिक उड्डयन प्राधिकरणबाट परीक्षण उडानको अनुमति प्राप्त भएपछि अवश्यक सहकार्यको लागि कावासोती नगरपालिकासँग अनुरोध गर्दा सकारात्मक सहयोग प्राप्त भएको समूहका सचिव विमल रानाले बताउनुभयो ।

चालक दलले पाँच दिनसम्म परीक्षण उडान गर्ने छन् । नियमित रुपमा प्याराग्लाइडिङ्ग सञ्चालनको लागि कस्तो सम्भावना रहन्छ भन्ने अध्ययन गरिने चालक प्राविधिक एवं चालक पहारीले बताउनुभयो । आज बालुवाडाँडाकै फरक स्थानबाट परीक्षण उडान गरिने छ । यस्तै अवतरणका लागि समेत फरक फरक स्थानको पहिचान गरिने पहारीले बताउनुभयो । पाँच दिनसम्म गरिने उडानपश्चात् यहाँ व्यावसायिकरुपमा प्याराग्लाइडिङ्गको सम्भावना के रहन्छ भन्ने यकिन हुने बताउनुभयो तर पहिलो दिनको उडानले यहाँ प्याराग्लाइडिङ्ग सफल हुने देखिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्