वैद्य र डाक्टरपछि प्रचण्ड झाँक्रीसँग : ओली

वैद्य र डाक्टरपछि प्रचण्ड झाँक्रीसँग : ओली

विराटनगर । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले वैद्य र डाक्टरपछि झाँक्रीसँग सहकार्य गरिरहेको बताउनु भएको छ । पार्टीको प्रदेश कमिटिले शनिबार विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डले सहकार्य फेरेको बताउनु भएको हो ।

मोहन वैद्यपछि डाक्टर बाबुरामसँग सहकार्य गरेका प्रचण्ड अहिले रामकुमारी झाँक्रीसँगको भरमा छन्, प्रधानमन्त्री ओलीले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो–असजिलो स्थानमा छन्, राजनीतिक सफलता पाउने छैनन् । ओलीले सिद्धिसकेका प्रचण्डलाई आफैंले ल्याएर पुर्नस्थापित गर्न खोजेपनि आफैंसँग सिङ्ग जुधाउन फर्केको आरोप लगाउनुभयो । मैले नै उनलाई पुर्नजीवन दिए तर मलाई नै सिङ्गले हान्न खोजेपछि सिद्धिने बाटोमा उभिएका छन्, ओलीले भन्नुभयो–झगडियाहरुको समूह केहि निर्णय गर्ने बित्तिकै अदालतमा मुद्दा बोकेर पुगिहाल्छ ।

प्रधानमन्त्री ओलीले सभामुख अग्नी सापकोटा र उपराष्ट्रपति नन्दबहादुर पुनःले अहिले झगडा सुरु गरेको आरोप लगाउनुभयो । सरकार विरुद्ध मुद्दा बोकेर सभामुख अदालत पुग्छन् ओलीको भनाई थियो–किर्ते सनाखत आफैं गर्ने व्यक्ति सभामुख बनाएपछि यहि हुन्छ समस्या ।
उहाँले उपराष्ट्रपतिले संसद बिघटन भएपछि लोकतन्त्र खतरामा परेको भन्दै बोल्ने कुरा सहि नभएको बताउनुभयो । चुनाव नगरि प्रधानमन्त्री र अध्यक्ष हुनुपर्छ भन्ने मान्यता राख्नेहरु निर्वाचनमा जान डराएर झगडिया भएको प्रम ओलीको कथन थियो ।

जनताको अधिकार खोसिएको बेला ५० वर्ष अगाडी उद्घोष गरिएको लोकतन्त्र संस्थागत चरणमा रहेको बताउँदै ओलीले यसलाई मास्न कसैले नसक्ने विश्वास व्यक्त गर्नु भएको छ । कसैको चाहना होला तर पूरा हुनेछैन, देशलाई विकास र समृद्धिको यात्रामा बढाउने आधार भनेकै लोकतन्त्र हो ।
सुशासन र समृद्धिको बाटोमा कसैले खडा गरेको अवरोध पन्छाउँदै देश अगाडी बढ्ने बताउँदै प्रधानन्त्री ओलीले देशभरका सुकुम्वासीहरुले चाँडै लालपूर्जा प्राप्त गर्ने घोषणा गर्नु भएको छ ।
संवैधानिक आयोगमा नियुक्ति गर्नै नसक्ने अवस्था सिर्जना गरिएको र संसद बिघटनपछि त्यसले पूर्णता पाउँदा प्रचण्ड–माधव समूह अत्तालिएको उहाँको भनाई थियो ।
झगडियाहरुले केहि निर्णय गर्नै दिएनन्, प्रधानमन्त्री ओलीले भन्नुभयो–नागरिकका पक्षमा सरकारले गर्ने निर्णयलाई मुद्दा हालेर रोक्ने अभ्यास बारम्बार चलिरहेको छ । निर्वाचनको घोषणा गरिसकिएको अवस्थामा प्रतिनिधिसभा पुर्नस्थापना भए पुनः राजनीतिमा फोहोरी खेल सुरु हुने बताउँदै ओलीले अदालतले देशभर नागरिकले दर्शाएको भावनालाई बmुभनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले चुनाव चिन्हमा दावी गर्नु पुलतीको खेल खेल्ने केटाकेटी जस्तो मात्रै भएको धारणा राख्नुभयो । उहाँले आजसम्म कुनै निर्वाचनपनि त्यो चिन्ह प्रयोग गरेर निर्वाचित नभएकाहरुको दावी अनावश्यक रडाको मात्रै भएको बताउनुभयो । जहाँ पनि झगडा गर्ने र सराप्नेहरु मात्रै भयो, यस्तालाई निर्वाचनमा मत दिए आगामी दिन अझै कष्ठकर हुनेछन्, प्रधानमन्त्री ओलीले भन्नुभयो–अरुलाई मत दिईरहनुपर्ने आवश्यकता नै छैन ।

जनसभालाई गृहमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य रामबहादुर थापा बादलले सम्बोधन गर्दै प्रचण्ड–माधव नेपाल समूह गोयबल्सशैलीमा उत्रिएको आरोप लगाउनुभयो । निर्मला पन्तको हत्या र बलात्कारमा संलग्नलाई चाँडै सार्वजानिक गर्ने बताउँदै नागरिकको सुरक्षामा सरकार प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।
समृद्धिको यात्रामा गरिएको अवरोध र षड्यन्त्र निर्वाचनबाट जनताकाबीचमा गएर मात्रै परास्त गर्न सकिन्छ, गृहमन्त्री थापाले भन्नुभयो–त्यसका लागि सम्पूर्ण न्यायप्रेमी नागरिक एकतावद्ध हुनपर्दछ ।

कार्यक्रममा स्थायी समिति सदस्य तथा प्रदेश १ संयोजक सुवासचन्द्र नेम्वाङ्गले देशभर गरिएको जनसभाबाट नागरिकले निर्वाचनको पक्षमा मत जाहेर गरिसकेकोले बैशाख १७ र २७ गते निर्वाचन भएरै छोड्ने बताउनुभयो । उहाँले निर्वाचनको घोषणा गरेको सरकार मात्रै नभई प्रतिपक्षी दल र विरोधमा रहेको अर्को समूहले समेत तयारी गरिरहेको दावी गर्नुभयो ।
संसद विघटनको कदममा प्रधानमन्त्रीसँगै राष्ट्रपतिलाई समेत अनावश्यक विवादमा तान्न खोज्ने प्रयत्न भएको बताउँदै उहाँले सम्मानित संस्थाहरुको सम्मानमा आँच पु¥याउन खोज्नु लोकतन्त्र विपरित हुने बताउनुभयो । संसद विघटनपछि अदालतमा विचराधिन रहेको मुद्दामा बाहिर बोल्नुभन्दा अब केहि दिन धैर्य गर्नु उचित हुने बताउँदै उहाँले आगामी फागुन १५ गतेसम्म फैसला आउनसक्ने संकेत गर्नुभयो ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघमा मात्रै नभई प्रदेश तहमा समेत भाँडभैलो मच्चाएर कब्जा गर्ने नीतिमा रहेको समूहसँग कतिपनि नडगमगाउने धारणा राख्नुभयो । उहाँले तीनजना पूर्व प्रमहरुले एउटा कम्पनि बनाएर देशलाई अस्थिरताको बाटोमा लैजाने योजना सारेको बताउनुभयो ।
नेकपा प्रदेश कमिटिद्वारा आयोजित जनसभामा प्रदेश १ का १४ जिल्लाबाटै नेता, कार्यकर्ता तथा शुभेक्छुकहरु विराटनगर आएका थिए । झापा, मोरङ र सुनसरीबाट प्रधानमन्त्री ओलीलाई सुन्नका लागि धेरै नागरिक स्वतः स्फूर्त रुपमा आफ्नै सवारी प्रयोग गरेर विराटनगरसम्म आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्