मृतकका परिवार न्याय खोज्दै जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङमा

मृतकका परिवार न्याय खोज्दै जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङमा

विराटनगर
मोरङको उर्लाबारीका प्रविण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा निश्पक्ष छानविनको माग गर्दै पिडित परिवारका आफन्तले जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङमा न्याय खोज्दै यतिबेला विराटनगर आईपुगेका छन् ।

पिडित परिवरका आफन्त , स्थानियवासीले गत आइतबार र सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रदर्शन समेत गरेका थिए ।
उर्लाबारी ईलाका प्रहरी कार्यालयमा भएको छलफलमा कुनै निष्र्कष नटुङ्गिएपछि आफन्त र स्थानीयले मंगलबार विराटनगर आएर जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रशासन कार्यालयमा दबाब दिएका हुन् ।


प्रहरीले हत्यारामा सङ्लग्नलाई उन्मुक्ति दिन मिसिलमा मृतकको फोटो परिवर्तन गरेको आफन्तहरुको आरोप छ । गत पुस ५ गते मृत फेला परेका उर्लाबारी–५ का ३१ वर्षीय बाँस्तोलाको हत्या भएको दावी आफन्तको छ ।

प्रहरीका अनुसार अघिल्लो रात साथीभाइसँग होटलमा खानपिन गरेर उर्लाबारी–६ का रमेश गिरीको घरमा बसेका उनको भोलिपल्ट बिहान मृत शव भेटिएको थियो । ओछ्यानमै बेहास अवस्थामा भेटिएको भन्दै उनका साथीले उपचारका लागि गोदावारी अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउँदा प्रमाण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो । मिसिल बुझाउँदा मृतकको तीनवटा फोटो राखेकोमा एउटा फोटो अरु नै व्यक्तिको रहेको खुलेको छ ।

फोटो परिवर्तन गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका कारण वकिलको कार्यालयलले मुद्दा नचलाएको आफन्तको आरोप छ । घटनाको अनुसन्धानका लागि प्रहरीले मृतककै साथी उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेली, दीपेश पौडेल र शिवा भनिने मेहरमान दर्जीमाथि अनुसन्धान गरेको थियो ।

माघ २ गते मुद्दा चलाउन प्रमण नपुग्ने भन्दै सरकारी वकिलको कार्यालयको निर्देशनपछि पक्राउ परेका रणपहेली हाजिरी जमानीमा छुटेका थिए । मृतककी बहिनी सदीक्षाले इलाका प्रहरी कार्यालय उर्लाबारी पुगेर मिसिल हेर्दा मृतकको फोटो नै परिवर्तन भएको भेटेपछि आफन्त र स्थानीय प्रहरीको भूमिकाप्रति आक्रोसित हुँदै आन्दोलनमा छन् ।

प्रहरीले भुलवस फोटो परिवर्तन भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले मिस्टेकले एउटा गलत फोटो परेको बताउनुभयो ।

आफन्तले अनुसन्धानमा चित्त नबुझाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले छानविन समिति गठन गरेको जनाएको छ। प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा प्रहरीले अनुसन्धानबारे छानविन गर्न समिति गठन गरेको हो। छानविन समितिलाई ७ दिनको समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्