विराटनगर–३ का कालिचरण ४२ वर्षपछि घरबारबिहीन

विराटनगर–३ का कालिचरण ४२ वर्षपछि घरबारबिहीन

विराटनगर । विराटनगर–३ गोग्राहा चौक (कन्या मार्ग) स्थित सानो फुसको घरमा ४२ वर्ष अगाडी जन्मिएका कालिचरण राजबंशी यो उमेरमा घरबारविहीन बन्दैछन् । उनका ७२ वर्षीय बुबा पन्नालाल राजबंशीले बनाएको सानो फुसको घर अहिले टालिले छाएको छ । पन्नालालले त्यहिं आमा भित्र्याएपछि जन्मिएर हुर्किएका कालिचरणले पनि २२ वर्ष अगाडी आफ्नी जीवनसाथीलाई त्यहि घरमा दुलही भित्र्याएका थिए ।

सहजअसहज जीवन चलाईरहेका कालिचरणाका बुबा पन्नालाल अहिले प्यारालाईसीसले थलिएका छन् । तर, यो अवस्थामा तीनधुर जग्गामा बनेको टालिको घरबाट बुबा पन्नालालसहित कालिचरणको परिवार विस्थापित हुनुपर्ने बाध्यता आईपरेको पीडित परिवारको दुखेसो छ । बुधबार नेपाल पत्रकार महासंघ मोरङ शाखामा आफ्ना गुनासा सुनाउँदै कालिचरणले भने–न्यायिक समितिले चैत मसान्तसम्ममा कुम्लोकुटुरो बोकेर घर छाड्न उर्दि जारी गरेको छ । उनीहरुका विरुद्ध साँध जोडिएका जग्गा धनी बिनयराज राजबंशीले विराटनगर महानगरपालिकाको न्यायिक समितिमा गत माघ ७ गते फिराद हालेका थिए ।

त्यो फिरादमाथि फैसला सुनाउँदै न्यायिक समिति सभापति एवं महानगरपालिका उपमेयर इन्दिरा कार्की र न्यायिक समितिका अन्य सदस्यहरुले कालिचरणलाई हट्न निर्देशन दिइएको हो । विराटनगर–३ का वडा अध्यक्ष एवं न्यायिक समितिका सदस्य बिनोद बस्नेतले उनीहरुले आफु सुकुम्बासी भएको प्रमाणित कागजात लिएर आएको खण्डमा महानगरपालिकाले निर्माण गरिरहेको जनता आवास कार्यक्रम अन्तर्गतका घरमा स्थान्तरण गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले न्यायिक समितिले गरेको निर्णय चित्त नबुझेको अवस्थामा न्यायलयमा जान पाउने अधिकार प्रयोग गर्नसक्ने बताउनुभयो । पीडित भनिकाहरुकै मागका आधारमा चैत मसान्तसम्मको म्याद दिइएको हो, आफैं त्यसबेलासम्म बसेर छोड्छौं भनेर गएका थिए, न्यायिक समिति सदस्य बस्नेतले भन्नुभयो–कुरालाई जता नी मोड्ने काम किन गरिरहेका होलान् ।
कालिचरणले पत्रकार सम्मेलनमा बताए अनुसार उनी विरुद्ध उजुरी गर्ने बिनयका काका बद्री राजबंशी उनको जग्गाको सँधियार हुन् । ऐलानी जग्गासँग जोडिएको नम्बरीवाला जग्गा धनीले आफूलाई उठिबास लगाएर त्यो जग्गा भोगचलन गर्न खोजेका हुन् । त्यसलाई न्यायिक समितिले बल दिएका कारण आफ्नो उठिबास लाग्ने भयो, आँखा रसिला बनाउँदै कालिचरण भने–न्याय यस्तै हुनेरहेछ ।
उजुरी दिने बिनय कान्तिपुर टिभीको पत्रकार हुन्, कालिचरणले भने–उनले बिचौलियाको भूमिका निर्वाह गरेर गरिबलाई उठिबास लगाउन खोजेका छन् । न्यायिक समितिका मान्छेहरु बिनयसँग डराएर हामीलाई हटाउन खोजिरहेका छन् ।

सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोगमार्फत भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने कार्यक्रम अगाडी सारेको छ । वर्षौंदेखि बस्दै आएको जग्गाको धनिपूर्जा कालिचरणहरुले पाउनसक्ने बुझेका बिनयले उनलाई उठिबास लगाएर पाँचधुर ऐलानी जग्गा आफ्नो बनाउन खोजेको दावी पीडितको छ । साँधमा रहेको ऐलानी जग्गालाई हालसाबि गरेर आफ्नो जग्गाको पूर्जामा पारिसकेको समेत पीडितहरुलाई शंका छ ।
यदि त्यस्तै भएको भएपनि स्थानीय तहको न्यायिक समितिले न्यायको निरुपण गर्नुपर्ने हैन ? कालिचरणले भने–नागरिकता त्यहिंबाट बनायौं, भोट त्यहिंबाट दिएर उनीहरुलाई जितायौं तर हामीलाई उठिबास लगाउन उनीहरु नै अगाडी सरिरहेका छन् । विराटनगर महानगरपालिका भित्र भने भूमि सम्बन्धित समस्या समाधान आयोगको काम थालिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्