मङ्गलसेनमा आकस्मिक मातृ शिशु स्याहार भवनको शिलान्यास

मङ्गलसेनमा आकस्मिक मातृ शिशु स्याहार भवनको शिलान्यास

अछाम
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले हरेक नागरिकलाई स्वास्थ्यको हक भएकाले त्यसको पूर्वाधारमा प्रदेश सरकार जुटिरहेको बताएका छन् । अछाम सदरमुकाम मङ्गलसेनमा जिल्ला अस्पताल अछामको नयाँ भवनको शिलान्यास गर्दै उनले स्वास्थ्य अन्तर्गत पनि मातृ तथा नवजात शिशुको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिइएको बताए ।

स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने र पूर्व तयारी रहनुपर्ने कोभिड-१९ ले पाठ सिकाएको भन्दै स्वास्थ्य, शिक्षालाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको बताएका छन् ।

अछाम अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रभुनाथ खनालले जानकारी दिएअनुसार प्रदेश सरकारको मूल बजेट ३ करोड ४० लाख रुपैयाँको लागतमा ठेक्का प्रक्रियाबाट भवन निर्माण गर्न लागिएको हो । २०७९ साल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी बहुबर्षे ठेक्का प्रक्रियाबाट साढे दुई तले २४ कोठे भवन निर्माण गरिने अध्यक्ष खनालको भनाइ छ ।

स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुङ्गानाले भवनको निर्माण कार्यबाट मातृ तथा नवजात शिशुको स्याहार तथा स्वास्थ्यमा ठुलो टेवा पुग्ने बताए । यो भवनबाट सुरक्षित मातृत्व सम्बन्धी सेवा थप व्यवस्थित हुने उनको विश्वास छ ।

सुरक्षित मातृत्वका सम्पूर्ण कार्य, अपरेसन कक्ष, स्याहार कक्ष लगायत सेवाहरू नयाँ बन्ने भवनबाट प्रवाह हुने जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर अतुल भारद्वाजले जानकारी दिएका छन् ।

भवनको शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य बल बहादुर सोडारी, हर्क बहादुर कुँवर, मङ्गलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहरा लगायतको सहभागिता रहेको थियो ।

यसैवीच प्रदेश सरकारको २० लाखको लागतमा मष्टामाण्डाै आभारभुत विद्यालयको शिलान्यास गरिएको छ । चाैरपाटी गाउँपालिका-४ पायलमा विद्यालय भवनको राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले शिलान्यास गरेका हुन् ।
तस्बिर- रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्