औषधि विभाग विराटनगरका अधिकृत दुई लाख घुससहित पक्राउ

औषधि विभाग विराटनगरका अधिकृत दुई लाख घुससहित पक्राउ

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसवापत लिएको रकमसहित औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृतलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको छ । आयोगको इटहरीस्थित कार्यालयको विशेष टोलीले अधिकृत २४ वर्षीय सरोज सुवेदीलाई घुसवापत लिएको दुई लाख रुपैयाँ नगदसहित पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका–३ स्थित दूध फारम अगाडिको भट्टराई होटलबाट सुवेदीलाई पक्राउ गरिएको पुष्टि अख्तियार इटहरीका प्रवक्ता पुरुषोत्तम ढकालले गरेका छन् । मोरङको उर्लाबारी नगरपालिका–५ घर भएका उनी विभागमा करारमा कार्यरत थिए । उनलाई दिउँसो ४ बजेतिर अख्तियारले घुस रकम लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

तेह्रथुमको मेन्छ्याम गाउँपालिका–५ मा समृद्धि फर्मा नामक औषधि पसल सञ्चालन गरेर बसेका पुष्प ढुंगानासँग उनले दुई लाख रुपैयाँ घुस लिएको खुलेको छ । घटना अनुसार ढुंगानाले सञ्चालन गरेको औषधि पसलमा उपचार गराएका एक पुरुष व्यक्तिको गत वैशाख ५ गते मृत्यु भएको थियो । प्रहरीले पक्राउ गर्दै उनीविरुद्ध उपचारको कसूरमा कारबाही अघि बढाएको थियो । अनुसन्धानका क्रममा २६ दिन प्रहरी हिरासतमा बसेका ढुंगानाको मुद्दा विचाराधिन अवस्थामै छ ।

मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमले औषधि व्यवस्था विभागसँग राय मागेपछि विभागका कर्मचारीले ढुंगानासँग घुस माग्न थालेका हुन् । विभागको निर्देशनमा गत भदौ ५ गते औषधि पसल पनि सिल गरिएको थियो । पसलको चाबी आफूले राख्दै ढुंगानालाई भने विभागले तारेखमा राखेको थियो । ढुंगानका अनुसार सरकारी वकिल कार्यालयले मुद्दाका लागि राय माग गरेको र जेल नपर्ने हिसाबले त्यसलाई मिलाइदिने भन्दै सुवेदीले घुस मागेका हुन् । सिल रहेको औषधि पसल खुला गरिदिने र वकिलले माग गरेको राय पनि जेल नपर्ने हिसाबले दिने भन्दै आफूसँग विभागका कर्मचारीले घुसको बार्गेनिङ थालेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्