म्यानपावरमा छापा मार्नुअघि मलाई सोध्नु : श्रममन्त्री चौधरी

म्यानपावरमा छापा मार्नुअघि मलाई  सोध्नु : श्रममन्त्री चौधरी

काठमाडौं
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले म्यानपावरमा छापा मार्नुअघि आफूलाई सोध्नुपर्ने भन्दै वैदेशिक रोजगार विभागलाई ठाडो निर्देशन दिएका छन् ।

पछिल्लो समय वैदेशिक रोजगार क्षेत्रमा विकृति बढ्न थालेपछि विभागका महानिर्देशक दाहालले म्यानपावर कम्पनीमाथि धमाधम अनुगमन र छापा मार्दै गर्दा मन्त्री चौधरीले भने विभागलाई सघाउनुको साट्टो उल्टै आफूलाई सोधेर मात्र छापा मार्न ठाडो निर्दशन दिएका छन् ।

गैरकानुनी रुपले कतार प्रहरीमा पठाइदिने एसओएस म्यानपावरलाई समय अगावै (६ महिनाका लागि सम्पूर्ण कारोबार रोक्का भएको) कारबाही फुकुवा गरेर विवादित बनेका मन्त्री चौधरीले म्यानपावरको बचाउमा झन् कस्सिएर लागिपरेका छन् । अब कुनै म्यानपावरमाथि छापा मार्नुअघि मन्त्रालयसँग अनुमति नलिई म्यानपावरमा अनुगमनसमेत नगर्न उनले ठाडो निर्देशन दिएका छन् ।

व्यवसायीको प्रलोभनमा परेका मन्त्री चौधरीलाई मन्त्रालयमा भेट्ने म्यानपावर व्यवसायीहरुको घुँइचो लाग्ने गरेको देखिन्छ । मन्त्रीलाई देशको अर्थतन्त्रको मेरुदण्ड भन्दै अनेक जालमा पारेर विभागलाई म्यानपावरमा अनुगमन र छापा मार्ने काम बन्द गर्न अनुरोध र व्यवसायीबाट मन्त्री चौधरी खुसीसमेत भएको बताइन्छ ।

मन्त्रालयको कमान्ड सम्हाले लगत्तै विदेश पठाउने नाममा ठगी गर्ने म्यानपावर कम्पनीहरुलाई आँखा चिम्लेर वेवास्ता गर्दै आएका उनको चर्काे विरोध समेत भइरहेको छ । तर मन्त्री चौधरीले एक कानले सुन्ने अर्काे कानले उदाउदै आएका छन् ।

तर, विभागले भने ऐन विपरीत पैसा उठाउने, विदेशमा अलपत्र पार्ने र अवैधानिक बाटोबाट कामदार पठाउने म्यानपावर कम्पनीमा पीडितको उजुरी र सूचनाका आधारमा विभागले तत्काल छापा हान्दै आएको छ । यसरी उपत्यका भित्र मात्र नभएर उपत्यका बाहिर समेत टोली खडा गरेर विभागले अनुगमन र छापाको काम भने निरन्तर गरिँरहँदा मन्त्री चौधरीले भने त्यसो नगर्न ठाडो निर्देशन दिएका छन् ।

तर, यस विषयमा सञ्चारकर्मीको प्रश्नमा श्रममन्त्री चौधरी भने आफूले विभागलाई कुनै दबाब नदिएको बताउने गरेका छन् । कानुनको कुरा गर्दै कानुनन्दा बाहिर गएर आफूले काम नगरेको उनको मिठास बोली छ ।
-news 24 nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्