उर्लाबारीका बास्तोला मृत्यु प्रकरण : घरधनी गिरीसँग एकलाख धरौटी माग

उर्लाबारीका बास्तोला मृत्यु प्रकरण : घरधनी गिरीसँग एकलाख धरौटी माग

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा संलग्न आरोप लागेका रमेश गिरीलाई जिल्ला अदालत मोरङले १ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । उर्लाबारी– ६ का ६० वर्षीय गिरीलाई सोमबार थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश दिएको हो । गिरी प्रवीणको मृत्यु भएको घरका घरधनी हुन् ।

गत मंगलबार गिरीसहित ६ जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान कसुरको अभियोगपत्र दायर भएको थियो । आइतबार पक्राउ परेका गिरीलाई सोमबार न्यायाधीश सुदर्शन लामिछानेको इजलासले थुनछेक बहसपछि एकलाख धरौटीमा छाड्ने आदेश दिएको अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिनुभयो ।
उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा गरी बस्ने साथीहरुको कोठामा ४ पुसमा पुगेका प्रवीणको शंकास्पद मृत्यु भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनीसँग डेरामा बसेका साथीहरुले हत्या गरेको दाबीसहित घरबेटी गिरी, मृत्युको अघिल्लो रात प्रवीण र उनका साथीहरुले सँगै मदिरा सेवन गरेको सौरभ होटल सञ्चालक कुमार राईसहित ६ जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा दायर गरेको थियो ।

गत बिहीबार न्यायाधीश लामिछानेको इजलासले रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिईसकेको छ । उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई तीनलाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।
होटलमा बास्तोलासँगै बसेका उर्लाबारीका ३१ वर्षीय राजेश रणपहेली, मोरङ कानेपोखरीका २१ वर्षीय सुदीप परियार र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल अझै फरार छन् । मेहरमान, सुदीप र दीपेश, गिरीको घरमा डेरा बस्थे । उनीहरुको कोठामा प्रवीण र रणपहेलीको आउजाउ भइरहन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्