आफ्नै घरमा फर्कदाँ एमाले कार्यकर्तामा उत्साह

आफ्नै घरमा फर्कदाँ एमाले कार्यकर्तामा उत्साह

विराटनगर । सर्वोच्च अदालतको फैसलासँगै तत्कालिन एमालेका कार्यकर्ता आफ्नै घरमा सोमबार रमाएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर भएसँगै विराटनगर पाञ्चालितस्थित मदन स्मृति भवनमा एमालेले आफ्नो कार्यालय सोमबार नै पुर्नस्थापित गरेको हो । सर्वोच्चको फैसला नेकपा पार्टीको एकता विरुद्ध भएपनि एमालेका कार्यकर्ता भने उत्साहसहित कार्यालयमा भेला भएका थिए । पाञ्चालिको मदन स्मृति भवनमा नेकपा एमाले लेखिएको बोर्ड राख्ने क्रममा धेरैले तालि पिटेर खुशी मनाएका थिए ।

कार्यक्रमका प्रमुख अथिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले ऋषि कट्टेलले जीतेर नेकपाले हार्दा समेत एमालेहरु उत्साहित रहेको बताउनु भएको थियो । उहाँले संसद पुर्नस्थापना गर्दा लड्डु खानेहरु दुखित र एकता तोडिदा एमालेहरु खुशी हुनुपर्ने अवस्था सिर्जना भएको बताउनु भएको थियो । मन्त्री ढकालले बदलिदो राजनीतिमा सहकार्य तोड्दै सरकार विरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भए नयाँ समिकरणका लागि ‘पार्टनर’ खोज्ने बताउनुभयो । पार्टी कार्यालय पुर्नस्थापित कार्यक्रममा सोमबार मन्त्री ढकालले, सरकार सहकार्य वा नयाँ समिकरणको विकल्पमा खुल्ला रहेको धारणा राख्नु भएको हो ।

एमाले र एमाओवादी आ–आफ्नै हैसियतमा फर्किएसँगै सरकारको नेतृत्व गरिरहेको एमाले बामपन्थी सहकार्य वा नयाँ समिकरण दुवैमा खुल्ला रहने मन्त्री ढकालकोे भनाई थियो । वामपन्थी सहकार्यको अवस्था २०७५ जेठ ३ गते अगाडी फर्किएको बताउँदै मन्त्री ढकालले सरकारको समर्थन फिर्ता लिए सरकारले विश्वासको मतका लागि नयाँ ‘पार्टनर’ फेर्ने धारणा राख्नुभयो । एमाले भित्रैका केहि साथीहरु पार्टी विभाजनका लागि कस्सिनु भएको छ, स्थायी समिति सदस्य समेत रहनु भएका मन्त्री ढकालले भन्नुभयो–एमाले धारमा रहेकाहरु एमाओवादी धारमा र एमाओवादी धारमा रहेकाहरु एमाले धारमा रहेका कारण केहि जटिलता रहेको बताउनुभयो ।

एकतालाई बलियो बनाउने आधार तयार गरेर संसद भित्र सुरु हुन लागेको विकृत राजनीतिलाई सच्याउन सहकार्यमा जाने अवधारणा लिनसकिने मन्त्री ढलको भनाई थियो । अदालतबाट संसद पुर्नस्थापना गर्ने आदेश र नेकपाको आधिकारिता दिने आदेशको सम्मान गर्ने बताउँदै मन्त्री ढकालले पार्टी एकताको आधार कमजोर देखिएकोले त्यसलाई सच्याउनसक्ने संभावना जीवित नै रहेको बताउनुभयो । पार्टी एकताको संभावना नरहेको अवस्थामा तत्कालिन एमाले पुरानो लयमा फर्किसकेको बताउँदै मन्त्री ढकालले सूर्य चिन्हसँग रहने जनतामा उत्साह जगाई दिएको दावी गर्नुभयो । पार्टी एकतापछि कार्यालयहरु गुम्नसक्ने भय र त्रास रहेको बताउँदै नागरिकले एकएक रुपिँया दिएर बनाएका कार्यलयहरुले जीवन समेत पाएको धारणा राख्नुभयो ।

नेता जताततै जाउन् तर जनता सूर्य चिन्हसँगै रहनेछन्, मन्त्री ढकालले दावीसहित भन्नुभयो–नेताहरुले समेत हिजो के भयो भन्ने कुरालाई बिर्सेर पुरानो थलोमा बस्नु नै उत्तम हुनेछ । कार्यक्रममा एमालेका नेता गुरु बरालले एकताको आधार भावनात्मक भएका कारण दुईवर्षसम्म पनि पार्टी एकिकृत हुननसकेको बताउनुभयो । उहाँले वैचारिक र संगठानात्मक आधार छोडेर भावनाको जगमा एकता भएको बताउँदै जसको परिणाम गलत नै प्राप्त भएको बताउनुभयो । ‘काँचो र पाकेको ईटाले बनेको घर विस्तारैक्रममा भत्कन्छ’ नेता बरालले भन्नुभयो–भत्किएको घरबाट पाकेका इटा टिपेर पुनः घर बनाउन सकिन्छ ।

केन्द्रीय सदस्य बिनोद ढकालले पार्टीपंक्तिदेखि संसद भित्रसम्मको राजनीतिक जोडघटाउमा आउने फेरबदललाई दृढतापूर्वक व्यवस्थापन गर्ने चुनौती रहेको बताउनुभयो । उहाँले केपी ओली र प्रचण्डबीच भएको एकताको जगलाई पुनः कसेर अगाडी बढ्न सक्ने नयाँ आधार तयार पार्नुपर्ने चुनौती रहेको बताउनुभयो ।  जिल्ला अध्यक्ष ऋषि पोखरेलले सर्वोच्च अदालतको फैसलासँगै एमालेका सबै पार्टी कार्यालय र कमिटिहरु पुर्नगठन र पुर्नस्थापित गरिएको जानकारी दिनुभयो । मोरङमा जिल्ला पार्टी कार्यालय, १७ स्थानीय तहका पार्टी कार्यालय र १५९ वडाका पार्टी कार्यालय सोमबार एकैपटक पुर्नस्थापित गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्