विराटनगर । गत पुस १४ गते मोरङको पथरीशनिश्चरे नगरपालिका– १० जिरिखिम्तीका १९ बर्षीय सन्दिप भण्डारीको शंकास्पद मृत्यु भएको घटनामा नेकपा एमालेका नेता युवराज बास्कोटा पक्राउ परेका छन् । शंकास्पद मृत्यु प्रकरणको घटना हत्या भएको आशंका गर्दै उनलाई संलग्न आरोपमा पक्राउ गरिएको हो ।
प्रहरीले बास्कोटालाई बुधबार पक्राउ गरेको हो । गत पुस १४ गते भण्डारीको पथरीशनिश्चरे नगरपालिका २ मंगलबारेस्थित युवराज बास्कोटाको घरमा भण्डारीको मृत्यु भएको थियो । बास्कोटामा गएका भण्डारी बिहान उनकै घरमा मृत्यु भएको अवस्थामा भेटिएपछि पीडितका परिवारले कर्तव्य गरि ज्यान कसुर गरेको दावी गर्दै आएका थिए ।
मृतक परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा नेता बास्कोटाविरूद्ध इलका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए । लामो समय अलमलमा परेको प्रहरीले त्यहि जाहेरीको आधारमा अनुसन्धानको लागि बास्कोटालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । ‘किटानी जाहेरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको छौं, प्रवक्ता राईले भन्नुभयो अहिले अनुसन्धान भइरहेको छ ।
किटानी जाहेरी परेपछि प्रहरीले जिल्ला अदालत मोरङबाट मंगलबार पक्राउ पूर्जी जारी गराएको थियो । अदालतबाट पक्राउ पूर्जी जारीभएपछि उनलाई पथरीदेखि पक्राउ गरिएको हो । उनलाई म्याद थप गरेर अनुसन्धान गरिने भएको छ । बाँस्तोलाको घरमा मृत अवस्थमा फेला परेका भण्डारीको शरिरमा निलडाम र कानमा पनि चोट देखिएको मृतकका आमा राधिका भण्डारीले बारम्बार गुनासोगर्दै आउनु भएको थियो । घटनामा आरोपीलाई पक्राउ गरि निष्पक्ष छानविन र दोषीलाई कडा कारवाही गर्न माग पीडित परिवारले राख्दै आएकको छ ।