विराटनगर। सात ग्राम ब्राउनसुगरसहित धरानमा पक्राउ परेका भारत दार्जिलिङ्गका ३१ वर्षीय बिसन घले र उनकी श्रीमती पुन्या तामाङलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । धरान भानुचौक स्थित तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट घले दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
त्यस अघिल्लो दिन सोमबार मात्रै प्रहरीले मेचीनगरपालिका–१५ फडानीको काँसघारीबाट दार्जिलिङ्गकै सुनिता हेमरम र अनिता हेमरमलाई १५० ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको थियो ।
दार्जिलिङ्गकै गाायत्री देवी क्षेत्री र मनिपुर बस्ने लक्ष्मी क्षेत्री गत फागुन २६ गते झापा मेचीनगर–६ स्थित न्युन विशाल होटलबाट दुई केजी अफिमसहित पक्राउ परेका थिए । उनीहरुलाई लागुऔषध ब्यूरो कोटेश्वर काठमाण्डौंको टोलिले विशेष सूचनाका आधारमा होटलको १०५ नम्बर कोठाबाट पक्राउ गरेको थियो ।
प्रतिबन्धित लागुऔषध ओसारपसार र प्रयोगकर्ताको रुपमा संलग्न नेपालीहरु मात्रै नभई भारतीय नागरिक समेत भरिया बनेर नेपाल प्रवेश गर्न थालेको पाइएको छ । प्रहरीले पछिल्लो दश दिनयता पाँचजना महिलासहित ६ जना भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ परेकाहरु दार्जिलिङका धेरै रहेका छन् । प्रदेश १ मा भारतसँग सीमा जोडिएका चार जिल्लामा पछिल्लो समय लागुऔषध ओसारपसारको सञ्जाल फैलिएको घटनाक्रमले देखाएको छ । प्रदेश अन्तर्गत झापा, मोरङ र सुनसरीमा दैनिकजस्तो ब्राउनसुगरसहित व्यक्ति नियन्त्रणमा पर्ने गरेका हुन् ।
प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी) इश्वरबाबु कार्कीका अनुसार विभिन्न स्थानबाट पक्राउ परेका व्यक्तिहरु भरिया मात्रै हुन् । पछिल्लो समय भारतीय नागरिकलाई नै भरिया बनाएर नेपाल पठाउने गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको उहाँले बताउनुभयो ।
नेपालीहरुमाथि प्रहरीको निगरानी धेरै भएपछि कारोबारीले भारतीय नागरिकलाई नै भरिया बनाएर पठाएको आशंका गरेका छौं, डिआईजी कार्कीले भन्नुभयो–त्यसको यथेष्ट अनुसन्धान चाँहि अझै बाँकी छ । थोरै परिमाणमा लागुऔषध ब्राउनसुगर बोकाएर भारतीय भरियालाई ट्रायलको रुपमा परीक्षण गरिरहेको प्रहरीले अनुमान गरेको छ । पछिल्लो भरिया बनेर नेपाल छिर्नेमा महिलाको संख्या धेरै देखिएको छ ।
पूर्वी नाकाबाट नेपाल प्रवेश गराएको लागुऔषधको सम्पर्क स्थान काठमाण्डौंसम्म देखिएको छ । ‘टोटल कनेक्सन’ को विषयमा लागुऔषध ब्यूरोले अझै मिहिन अनुसन्धान गरिरहेको छ, डिआईजी कार्कीले भन्नुभयो–हाम्रो अप्रेशनमा भारतीय कारोबारीले नेपालमा लागुऔषध पठाई रहेको देखिन्छ ।
पछिल्लो समय ब्राउनसुगरको ओसारपसार संलग्नहरु धेरै पक्राउ परिरहेका छन् । मोरङ, सुनसरी र झापालाई मुख्यकेन्द्र बनाएर संलग्नहरु सक्रिय भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रहरीले चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधीमा एक हजार ६५१.६८१ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । यसैगरी एक हजार ३१.७९० केजी गाँजा बरामद गरेको छ । मनोद्धिपक क्याप्सुल ३४ हजार ९५९ ट्याब्लेट, सुई ५ हजार ३०५ एम्पुल, विभिन्न मनोद्धिपक औषधीहरु १ हजार ८६४ ट्याब्लेट बरामद गरेको । प्रहरीले यस अवधीमा ४१३ रोपनीमा लगाएको गाँजा खेति नष्ट गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो ।