बिराटनगर । प्रदेश १ प्रहरी कार्यालय मातहत रहेका १४ जिल्लाबाट चालु आर्थिक वर्षको आठ महिनाको अवधीमा ४ हजार ६८९ मुद्दा दर्ता भएका छन् । प्रहरीले विभिन्न शिर्षकमा चलाएको कारवाहीबाट २७ करोड राजश्व संकलन गरेको छ । आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको हो ।
फैसला कार्यान्वयनतर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ५३९ जना फरार प्रतिवादी पक्राउ गरी ६४२ बर्ष कैद भुक्तान भई , २ करोड ३ लाख ४२ हजार ७ सय ४४ रुपैयाँ राजश्व संकलन भएको छ ।
यसैगरी लागुऔषध नियन्त्रण तर्फ बिशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरे अनुसार १६५१।६८१ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ भने ११३१।७९० केजी गाँजा बरामद भएको छ । यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल ३४ हजार ९५९ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई ५ हजार ३०५ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु १ हजार ८६४ ट्याब्लेट बरामद भएको छ ।
यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ५४१ गाँजाका बोट नष्ट गरिएको छ । यसैगरी भन्सार चोरी निकाशीतर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १४२ जना मानिस पक्राउ गर्नुका साथै १३ करोड १८ लाख ६ हजार ८०६ रुपैयाँ राजश्व संकलन भएको छ ।
प्रहरीले नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १४० जना मानिस र ५९८ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ४५ लाख ६६ हजार ७२० राजश्व संकलन भएको छ । अबैध काठ चोरी निकासी गर्ने ४१ जना मानिस पक्राउ गर्नुका साथै २०३७ क्यू.फिट. काठ बरामद गरी ३० लाख ९५ हजार २०० रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ८ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने १ लाख ७९ हजार ३४९ वटा सवारी साधनलाई कारवाही गर्दा ११ करोड १७ लाख २६ हजार राजश्व संकलन भएको छ । यसरी यसै आर्थिक बर्षको ८ महिनामा मात्र कुल २७ करोड १५ लाख ३७ हजार ४७० राजश्व संकलन भएको हो ।