विराटनगर । तराईको ‘लाइफलाइन’ मानिएको हुलाकी राजमार्ग अन्तर्गत प्रदेश १ का तीन जिल्लामा निर्माणको काम सुस्त देखिएको छ । निर्माण सम्झौता भएका सडक तथा पुल निर्माणको काम चालु आर्थिक वर्षमा केहि गतिलिएपनि तोकिएको समयसीमा नै सकिनेमा आशंका उब्जिएको हो ।
हुलाकी सडक अन्तर्गत झापामा ४८ किलोमिटर, मोरङमा ४८ किलोमिटर, सुनसरीमा ३० किलोमिटर दुरीको मुख्य राजमार्ग र राजमार्ग भित्र पर्ने पुल निर्माण गर्नुपर्ने छ । सहायक सडकको रुपमा झापाको चारआली–केचना ४० किलोमिटर, मोरङको कानेपोखरी–रंगेली २५ किलोमिटर पर्दछ ।
हुलाकी सडक आयोजना इटहरीका सूचना अधिकारी एवं इन्जिनियर आशुतोष कर्णका अनुसार समग्र भौतिक तथा वित्तिय प्रगति चालु आर्थिक वर्षमा सन्तोषजनक देखिएको छ । सुनसरीमा १२ किलोमिटर सडक पहिलो लेन (बीबीएम) कालोपत्रे र ७ किलोमिटरमा बेहको काम सकिएको इन्जिनियर कर्णले जानकारी दिनुभयो । यसैगरी देवागञ्ज–साहेबगञ्जमा ८.५ किलोमिटर सडकको काम नयाँ सुरुवात गरिएको छ ।
आयोजना अन्तर्गत मोरङमा ६ प्याकेजमा ठेक्का सम्झौता गरेर निर्माणको काम भईरहेको छ । इन्जिनियर शिवराम देवका अनुसार रतुवाखोला–केशलिया खोलासम्मको दुरीमध्ये विराटनगर महानगरपालिका क्षेत्र भित्रको ६ किलोमिटर बाहेक अन्य क्षेत्रमा धमाधम काम भईरहेको छ । महानगरपालिका भित्र भने अहिलेसम्म ठेक्का समेत लागेको छैन ।
निर्माण सम्झौता गरिएको तीनवर्षको अवधीमध्ये १७ महिनामा निर्माणको कामले निक्कै गति लिएको इन्जिनियर देवले दावी गर्नुभयो । मोरङमा ठेक्का सम्झौता भएका छ प्याकेजको भौतिक प्रगति १५ प्रतिशत रहेको देवले जानकारी दिनुभयो । चालु आर्थिक वर्षदेखि मात्रै कामले गति लिएको बताइएको छ ।
यसैगरी झापाको ४८ किलोमिटर दुरीमध्ये १९ किलोमिटरको ९५ प्रतिशत काम सम्पन्न भएको छ । झापा खण्ड हेर्दै आउनु भएका इन्जिनियर प्रमोद खतिवडाका अनुसार चारआली केचना सडकको समग्र निर्माण प्रगति ९५ प्रतिशत रहेको हो । यसैगरी भद्रपुर–मेचीपुल सडक ५० प्रतिशत, भद्रपुर–राजगड सडक ८८ प्रतिशत र स्तरोन्नती गर्ने क्षेत्र अन्तर्गतको मेची–रतुवा सडकको काम समेत ४५ प्रतिशत सम्पन्न भईसकेको इन्जिनियर खतिवडाले जानकारी दिनुभयो ।
सडक बाहेक झापामा आठ वटा खोला तथा नदिमा पुल निर्माणको काम समेत एकै पटक अगाडी बढाइएको छ । बिरिङ, कन्काई, कमल, बनियानी, भुतनी, लेहेरा, किस्ने र सानोमाईमा पुल निर्माणको काम भईरहेको छ । यी पुलहरुको समग्र भौतिक प्रगति ६५ प्रतिशतभन्दा माथि रहेको इन्जिनियर खतिवडाले जानकारी दिनुभयो ।
तराईका जिल्ला जोड्ने लाइफलाइन सडकको रुपमा रहेको हुलाकी राजमार्गको पूर्व–पश्चिमतर्फको ९ सय ७५ किलोमिटर दुरी मुख्य राजमार्गको रुपमा पर्दछ । यसैसँग जोडिएर तराईका जिल्ला सदरमुकाम जोड्ने उत्तर–दक्षिण सहायक सडकको दुरी ८ सय १७ किलोमिटर पर्दछ । सहायक सडकमा ३२ वडा मार्गहरु निर्माण गर्नुपर्ने हुन्छ ।
मुख्य र सहायक सडकसहित एक हजार ७ सय ९२ किलोमिटर दुरीमा गर्नुपर्ने निर्माणको काम चालु आर्थिक वर्षमा सन्तोषजनक रहेको दावी गरिएको छ । हुलाकी राजमार्गलाई पूर्व–पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै ३० किलोमिटर दक्षिणतर्फ विस्तार गर्ने सरकारको योजना छ । आर्थिक वर्ष २०६२÷०६३ देखि निर्माण थालिएको राजमार्गका लागि भारतको अनुदान सहयोग रहेको छ ।