विराटनगर । नक्कली सुन धितोमा राखेर चारलाख रुपैँया ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय सुनसरीले दुईजनालाई नियन्त्रणमा लिइएको छ । प्रहरीले इटहरी–२० का फैजान आलम र इनरुवा–१० का जल्लाउछिन मियाँलाई ठगी आरोपमा पक्राउ गरेको हो ।
उनीहरुले इटहरी–८ का यज्ञबिक्रम ठकुरीसँग सुन धितोमा राखेर चारलाख रुपैँया लिएका थिए । जग्गाको कारोबारमा साझेदार बन्न प्रस्ताव गरेपछि ठकुरीले इन्कार गरेका थिए । त्यसपछि उनीहरुले सुन राखेर भएपनि एकदिनलाई चारलाख दिनु भनेर रकम लगेपनि फिर्ता नदिएका हुन् ।
गत चैत ५ गते दशग्राम बराबरको ८ वटा सुनको सिक्का राखेर पैसा लिएका उनीहरुले त्यहिदिन फिर्ता गर्ने शर्त राखेको पीडितले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ । तर, सुन लिन नफर्केपछि शंका लागेर ठकुरीले परीक्षण गर्दा नक्कली रहेको खुलेको थियो । आफू ठगीएको थाहा पाएपछि ठकुरीले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले खोजतलासको क्रममा ९ गते फैजानलाई इटहरी र जल्लाउद्दिनलाई इनरुवाबाट पक्राउ गरि ठगी मुद्दामा अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।