-शार्दूल
म माथि तिमीले अन्याय गरेकी छैनौ
मेरो मरेको दिमाग उघारेकी छौ |
यसरी मरेको दिमाग की यसको प्राणको पत्तो मसँग नी थिएन |
तिमी आयौ, नखरा देखायौ, फकाउन सिकायौ, धेरै धड्कायौ
र
कम्पन यसरी बढ्यो कि यो बन्द दिमाग तिम्रो थर्काइले थर्कियो
अनाहकमा खुम्चियो, तन्कियो र उघ्रियो |
तिमीलाइ थाहा छैन कि म हरेक कणकणमा के महशुष गर्छु |
हरेक पलका सम्झना कसरी ग्रहण गर्छु र
हरेक निमेषका उत्साह कसरी प्रयोग गर्छु |
किनकी
हिजोआज बहुत थोरै समय मात्र म मेरो बारे सोच्छु |
तिम्रो मुस्कानको गुन्जनमा आजकल
गोब्रे किराको पट्यारलाग्दो झिँझिँ पनी राम्रो लाग्छ |
दाम्लो चुँडाएर कुनै भैँसी बड्किँदा
तिमीले म:म कसरी चपाउँदिहोली भन्ने कल्पन्छु |
कहिलेकाहिँ जिन्दगीले पेट बटारेको बेला मेरो
तिमी त राम्री छौ, राम्री कन्यालाइपनि डकार जस्तो खराब चिज आउँदो होला र ?
सोच्छु |
आफ्ना हातमा डाबर देख्दा लाग्छ कि
तिमीलाइ त लामखुट्टेले टोक्दैन होला है ?
कि टोक्छ ?
राम्री मान्छेलाइ नी लामखुट्टेले टोक्छ र ?
हरेक बिहान मुख धुँदा हेर्छु
आँखामा किचिक्क कचेरा थुप्रिएका |
साँच्चै सुन्दरी तिम्रो त आँखामा कचेरा नि नहुँदो हो
नाकमा सिँगान नी नहुँदो हो |
किनकी तिमी त राम्री हौ नी |
तिम्रो आँखीभौँ बिचको कोठीको अर्थ के होला ?
लाग्छ कि तेती कुरामा पनी म महाकाब्य जन्माउन सक्छु
तिमीलाइ क्लियोपेट्राको उपाधी दिलाउन सक्छु |
तिम्रो सामु प्रश्न के गरौँ म
दुनियाँले युगौँसम्म नदेखेको भुकम्प खेप्नुपर्ला
फेरी अर्को धरहरा भत्किएला झैँ लाग्छ र चुप लाग्छु |
म छु र त तिम्रो धम्की छ
म छु र त तिम्रो नखरा छ
म छु र त तिम्रो थर्काइ छ
म छु र त तिम्रो रजाइँ छ |
म छु र त तिम्रो घुर्की छ
म छु र त तिम्रो सन्काइ छ
म छु र त तिम्रो रिस छ
म तिमीले रिस खन्याउने भाँडो हुँ र त अरुले तिम्रो मुस्कान देख्न पाएकाछन् |
म नभएको दिन न त तिमी रहन्छौ
र
तिमी नरहेको दिन न म रहन्छु |
म सहन्छु यि सबै |
सँधै गुलियो पाएँभने मधुमेहले मर्छु भन्ने डर हुन्छ
कहिले तितो, कहिले मिठो |
सब्जी चर्को हुँदा मैले नी थर्काउने दिन आउला
भात डढ्दा मैले नी हप्काउने दिन आउला
मोजा नभेटेको बेला मैले नि चिच्याउने दिन आउला |
म जातैले जमदार हुँ |
यो समाजमा एउटी नारिले कति कष्ट भोग्नुपर्छ त्यो मलाइ थाहा छ
त्यसैले
तिमीले दिने यि झिना तनाब मेरालागि केहि हैनन्
ति घुर्की केहि हैनन्
ति धम्की केहि हैनन्
ति ठुस्काइ केहि हैनन्
ति आक्रोश केहि हैनन्
ति थर्काइ केहि हैनन् |
यि कारणले मभित्र बितृष्णा कहिल्यै उम्रिने छैनन्
न त तिमीप्रती प्रतिशोधको भाव नै हुनेछन् किनकी
इश्वरले स्त्रीको रुपमा तिमीलाइ थोपरेका कष्ट आँफैमा ठुला छन् |
तातो बालुवामा हिँडेर लखतरान भएको बेला
मृगतृष्णाले झुक्याउँदै झुक्याउँदै अली परसम्म ल्याएपछी भेटिएका कुवा
र चिसो कलकल पानी पिउने बटुवाले बरु केहि जिन्दगी बाँचेको हुन्छ |
हातमा ठेउला उठेर फुटेका दाउरेहरुले केहि जुनी बाँचेका हुन्छन् |
मलाइ फोटो इडिटरले उज्याली बनाएकी तिमी भन्दा
गालामा तपतप पसिना चुहिरहेकी तिमी मनपर्छ |
चिसोमा बसेर गोरी भएकी तिमी भन्दा
त्यो निधारका कुनामा उम्रिएका बुरुरु साना फोका पसिना मनपर्छ |
दुनियाँ घसेर र वाक्सिङ् गरेका नाडी भन्दा
दाउरा र झिक्राले कोरिएका नाडी मनपर्छ |
किन थाहा छ ?
किनकी म फोटो इडिटरलाइ हैन तिमीलाइ विश्वास गर्छु
म पाउडरको हैन पसिनाको सुगन्धको सम्मान गर्छु |
म भ्यासेलीन हैन, मेहेनतमा चिरिएका तिम्रा कुर्कुच्चा सुम्सुम्याउँछु |
हो
तिमीलाइ थाहा छैन म कृतिम सँसारको बिरुद्ध छु |
म बास्तबिकताको पुजारी हुँ | म बास्तबिकताको पण्डित हुँ |
पण्डित्नी बन्छौ ?
आउ |
आउ |
मिलेर रोटी बटुलौँ |
म प्राप्तीका टपरी सार्दिन्छु तिमी बोरामा खन्याउनु
मेहेनतका साना सिक्का खन्द्र्याङ् खन्द्र्याङ् पार्छु
तिमी सम्पती सम्हालेझैँ सुर्के थैलीमा गन्दै राख्नु
अनी
सफलताका बोरा बोकेर भर्खर भेटीएका दौँतरीजस्तो
गफिँदै गफिँदै फर्कौँला |
मरि लानु के छ र !
तिमीलाइ थाहा छ: भुक्के चप्पल पड्काउँदै हिँड्नुको मजा बेग्लै हुन्छ |
किनकी त्यो पड्काइमा कमसेकम रहरका ध्वनी हुन्छन् |
म त सोच्छु कि कतै बिकट ठाउँमा पुगौँ र सिटामोलको गाथा सुनाऔँ
सबैका मुख ट्वाँ रहुन् मेरा कुराले |
मैले साँच्चै टिम्बरल्याण्ड ब्राण्ड छोडेर हात्तीछाप चप्पल रोजेँ भने लगाउँछौ नी हैन ?
३ घण्टा उकालो हिँड्नुपर्ने ठाउँ रोजेँ भने जान्छौ नि हैन ?
सँगै हुन्छौ ?
उसोभए आउ |
एक जोर कपडा बोक, बुरुश बोक, कपाल बाँध्ने रबर र क्लिप बोक आउ..
त्यो छोड्देउ
ऐनापनी परेन मेरैमा छ
पाउडर लिपिस्टिक सप्पैछ यहाँ
हत्तेरीका छिटो गरन |
आउ |
आउ आउ |
----