भित्ताका ‘केरमेट’ विरुद्ध रङ्ग भरेर होलि खेल्दै सुकुना क्याम्पसका विद्यार्थी

भित्ताका ‘केरमेट’ विरुद्ध रङ्ग भरेर होलि खेल्दै सुकुना क्याम्पसका विद्यार्थी

विराटनगर । सुकुना बहुमुखी क्याम्पसमा बि.एड.विज्ञान संकायका प्रथम वर्षका विद्यार्थीले क्याम्पसका भित्तामा रङ्ग भरेर होलि खेलेका छन् । क्याम्पसका भित्तामा कोरिएका विभिन्न शब्द र चित्रहरुमाथि रङ्ग भरेर उनीहरुले होलि पर्वलाई मनाएका हुन् ।

आफ्नो कक्षा कोठादेखि शौचालयसम्मको संरचनामा अनैतिक शब्द र चित्रहरु कोरिएका कारण त्यसको नकारात्मक प्रभाव हटाउने परिकल्पना गरेर होलिको अवसरमा रङ्ग भरिएको हो । शैक्षिक तथा प्राज्ञिक थलोलाई सुन्दर र शान्त राख्नसक्दा मात्रै समाजले विश्वास गर्ने बुझाईका साथ अभियानकै रुपमा भित्तासँग होलि मिलन कार्यक्रम राखिएको परिकल्पनाकार विद्यार्थी हृदय झाले बताउनुभयो ।

जथाभावी कोरिएका यस्ता शब्द र चित्रले शैक्षिक तथा प्राज्ञिक थलोलाई जिस्काए झैं लाग्थ्यो, परिकल्पनाकार झाले भन्नुभयो–यसका लागि नयाँ पु्स्ताले सन्देश दिनुपर्छ भन्ने योजना हामीले बुनेका हौं । विद्यार्थीहरुको आफ्नै योजना कार्यन्वयन गर्नका लागि रुपेश पराजुलीलाई संयोजकको जिम्मेवारी दिइएको थियो । पराजुलीको संयोजकत्वमा रहेको टिमले प्रतिविद्यार्थी ५० रुपिँया संकलन गरेर क्याम्पसका भवनहरुको भित्ताका केरमेटमाथि प्राइमर र रङ्ग भरिदिएका हुन् ।

भित्ताको केरमेट विरुद्ध रङ्ग भर्ने योजनाका संयोजक पराजुलीले क्याम्पसमा भर्ना भएका सबै विद्यार्थी नयाँ सन्देश दिन चाहेको बताउनुभयो । उहाँले पहिलो पटक विद्यार्थीको सक्रियतामा भवनको भित्तामा रहेका केरमेट हटाउन पोतिएपछि क्याम्पसका प्रमुख चन्द्रमणी राईले समेत प्रशंसा गर्नु भएकोे जानकारी दिनुभयो । यो कार्यक्रमका लागि कक्षाका ३० जना साथीहरुको उतिकै सक्रियता छ, पराजुलीले भन्नुभयो–सानो काम तर महत्वपूर्ण सन्देश दिएका छौं ।

सुन्दा सामान्य लाग्ने गरेपनि सार्वजानिक क्षेत्रका अधिकांश भवनको संरक्षणमा कमैको चासो हुन्छ । सरकारी संरचनाको संरक्षण नहुँदा जति लगानी गरिएको भएपनि फोहोर र प्रदुषित नै देखिन्छ ।

तर, सुकुनाको विद्यार्थीको परिकल्पना र जाँगरले धेरैलाई उतिकै झक्झक्याएको पनि छ । झन् विद्यालयमा अध्ययन गर्ने उमेर समूहकाहरुलाई त संरचनाको संरक्षण गर्नुपर्ने दायित्वबोधलाई गहिरोसँग बुझाएको छ । शिक्षा असल व्यवहार र बानिहरुको विकास पनि हो भन्ने मर्मलाई सुकुनाका विद्यार्थीले राम्रोसँग आत्मासाथ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्