मोरङमा होलि विशेष सुरक्षा योजना, चेकपोइन्ट–गस्तीको संख्या बढाउने, सादा पोशाकका प्रहरीबाट विशेष निगरानी

मोरङमा होलि विशेष सुरक्षा योजना, चेकपोइन्ट–गस्तीको संख्या बढाउने, सादा पोशाकका प्रहरीबाट विशेष निगरानी

विराटनगर । भारतमा दोस्रो लहरको कोरोना संक्रमणको जोखिम उच्च बन्दै गएपछि भारतसँग सीमा जोडिएको मोरङ जिल्लामा यसवर्षको होलि पर्वलाई घर भित्रै सिमित राख्नका लागि प्रहरीले आग्रह गरेको छ । होलि विशेष सुरक्षा योजना अन्तर्गत सार्वजानिक क्षेत्रमा हुने भीडभाड र जमघटलाई नियन्त्रण गर्दै विशेष सावधानीपूर्वक होलि खेल्नका लागि प्रहरीले अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार होलिलाई मध्यनजर गर्दै प्रहरीको विशेष निगरानी र सुरक्षा चेकजाँचलाई कडाई गरिने छ । प्रहरीले पैदल, साइकल, मोटरसाइकल र चारपाङग्रे सवारीमार्फत गस्ती गर्नेछ, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो–तत्काल आवश्यक परेको खण्डमा क्विक रेस्पोन्स टोलि परिचालन गर्ने गरि तयारी गरेको छ ।
प्रहरीले रिजर्ब फोर्सको रुपमा समेत प्रहरीलाई ठाउँठाउँमा तयारी अवस्थामा राख्ने भएको छ । प्रदेश राजधानी विराटनगरमा नियमित प्रहरी बाहेक एकसय जना प्रहरी थप गरेर सुरक्षा सतर्कता बढाइने भएको छ ।

सार्वजानिकस्थलमा कुनै किसिमको भीडभाड भएको खण्डमा त्यसलाई निस्तेज गरिने छ । घरभित्रै परिवारसँग बसेर होलि खेल्नका लागि हामीले अनुरोध गरिरहेका छौं, प्रहरी उपरीक्षक खड्काले भन्नुभयो–मादक पदार्थ तथा लागु औषध खाएर हिडेको पाइएमा प्रचलित कानुन अनुसारको कारवाही गर्नेछौं ।
प्रहरीले अपरिचित महिला तथा बालबालिकामाथि अबिर लगाउने र लोला हान्ने व्यवहारलाई पूर्ण रुपमा नियन्त्रण गर्ने दावी गरेको छ । सार्वजानिकस्थलमा अभद्र र असभ्य व्यवहार देखाउनेहरुलाई नियन्त्रणका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले आमसर्वसाधारणलाई जानकारी दिनका लागि प्रचार–प्रसारको कामलाई अगाडी बढाईसकेको छ । कुनै कारणले कसैले पनि सार्वजानिक गरिएको सूचना बाहिर गएर होलि खेलेको अवस्थामा सोझै कारवाहीको भागिदार बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्