सुनसरी सीडीओको गाडी परिवार लिएर जोगबनीमा ‘सपिङ्ग’

सुनसरी सीडीओको गाडी परिवार लिएर जोगबनीमा ‘सपिङ्ग’

विराटनगर । कोरोना संक्रमणका कारण सीमा वारपारमा कडाई गरिएको बेला जिल्ला प्रशासन कार्यालय सुनसरीको गाडी लिएर विराटनगर पारि भारतीय बजार जोगबनीमा शनिबार दिनभर किनमेल चलेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रयोग गर्दै आउनु भएको सरकारी नम्बर प्लेट ‘को १ झ ५५५’ गाडी प्रयोग गरेर जोगबनीमा ‘सपिङ्ग’ गर्न टोलि आएको हो ।

सरकारी गाडी भन्सार क्षेत्रमा राखेर महिलाको एक समूह जोगबनीमा किनमेलका लागि गएपछि रानीका स्थानीय युवाहरुले गाडीलाई नियन्त्रणमा लिएका थिए । गाडी रानीको भन्सार क्षेत्रको एक नम्बर ढाटमा राखिएको थियो । किनमेल गरेर फर्केपछि युवाहरुले दुई नम्बर ढाटमा गाडी नियन्त्रणमा लिएका हुन् । विराटनगर–१७ का युवा हमिद आजादका अनुसार शनिबार सरकारी गाडी प्रयोग गरेर जोगबनी बजार भर्न आएको देखेपछि गाडी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीको रोहबरमा जिम्मा लगाइएको थियो ।

गाडीमा लत्ताकपडा थियो, युवा आजादले भन्नुभयो–सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आउजाउमा समस्या हुने, सरकारी गाडी चढेर आउनेहरु चाँहि जान पाउने ?
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता महेशकुमार पोख्रेलका अनुसार उक्त गाडी सीडीओ ढकालले प्रयोग गर्दै आउनु भएको छ । कम्प्यूटरको डिभाईस खरिद गर्नुपर्ने थियो, पोख्रेलले ढाकछोप गर्ने शैलीमा भन्नुभयो–चालकलाई सामान लिन पठाएका हौं । उहाँले राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमका लागि आवश्यक डिभाईस नभएर खरिद गर्न पठाएको दावी गर्नुभयो । तर, सरकारी कार्यालयले कुनै पनि सामान यसरी खरिद गर्न पाउँदैन ।

सीडीओको गाडी प्रयोग गरेर परिवारका सदस्यहरु किनमेल गर्न आईपुगेको खुलेको छ । खरिद गरिएका सामान ल्याउँदै गाडीमा हालेको देखेपछि युवाहरुले सरकारी गाडीको दुरुपयोग गरिएको भन्दै विरोध गरेका थिए । त्यसपछि प्रहरीले किनमेल गर्न आउने परिवारलाई अर्कै बाटो प्रयोग गरेर नेपाल प्रवेश गराएको थियो ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार गाडी जिल्ला प्रशासन कार्यालय सुनसरी फर्काइसकिएको छ । सरकारी गाडी नै थियो, प्रहरी निरीक्षक थापाले भन्नुभयो–युवाहरुले देखेर हल्ला गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्