प्रदेश १ को संसद बैठक चैत २३ गतेलाई आह्वान

प्रदेश १ को संसद बैठक चैत २३ गतेलाई आह्वान

विराटनगर । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल समूहका सदस्यले फिर्ता लिने भएपछि प्रदेश १ प्रदेशसभाको बैठक आगामी चैत २३ गते बोलाइएको छ । अनिश्चितकालका लागि गत चैत १ गते सूचना टाँस गरी स्थगित भएको बैठक चैत २३ गतेका लागि बोलाइएको हो ।

माधव नेपाल समूहले निःशर्त चैत २३ को बैठकअघि नै अविश्वास प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिने जनाउ दिईसकेका छन् । राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको रुपमा नाम अगाडी सारिएका भीम आचार्यसहितका नेताहरु प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यको रुपमा उपस्थित हुनेछन् ।
बुधबार मुख्यमन्त्री शेरधन राईले आफ्नो पार्टीका सांसदलाई सात दिन भित्र अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिएका थिए ।
प्रदेश १ को हिउँदे अधिवेशन गत माघ ७ गते शुरु भएको थियो । तर, विभिन्न बहानाबाजीका कारण बैठक बस्न सकेको थिएन । गत पुस १२ गते तत्कालिन नेकपाको प्रचण्ड–माधव समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव फागुन ९ गते संसदमा टेबल भएको थियो ।

प्रस्ताव माथि छलफल गर्न २० फागुनमा बैठक आह्वान गरिएको थियो । तर, सभामुख सभामुख प्रदीपकुमार भण्डारीले फागुन १९ गते सूचना जारी गर्दै चैत २ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि चैत १ गते बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । एमालेको नेपाल पक्षले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री राईविरुद्ध तत्कालिन प्रचण्ड–माधव समूहले दर्ता गराएको अविश्वासको प्रस्ताव असफल हुनेछ ।प्रदेशसभाका ९३ सासदमध्ये नेकपा एमालेसँग ५१ जना सदस्य छन् ।

माओवादी केन्द्र, कांग्रेस र अन्य तीन साना दलसँग जम्मा ४२ मत छ । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सर्वोच्चको आदेशपछि दुई दल अलग–अलग हैसियतमा बाँडिएपछि सबैभन्दा बढी माओवादीका प्रदेशसभा सदस्यहरु अलमलमा परेका छन् । त्यसपछि माधव नेपाल समूहका प्रदेशसभा सदस्यहरु सबैभन्दा बढी असजिलोमा परेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्