विराटनगरमा चोर झोड्न रातभर प्रहरी गस्ती

विराटनगरमा चोर झोड्न रातभर प्रहरी गस्ती

विराटनगर । विराटनगर–९ स्थित पाथीभरा इन्जिनियरिङ्ग कन्सल्टेन्सीको तीन थान ल्यापटप कार्यालयबाटै चोरी भयो । कार्यालयमै प्रवेश गरेर होलि अगाडी चोरी भएका ल्यापटपसहित संलग्नलाई प्रहरीले पक्राउ ग¥यो ।

प्रहरीले ल्यापटप चोरीमा संलग्न रहेको आरोपमा विराटनगर–९ का अभिषेक कर्णलाई नियन्त्रणमा लिएपछि चोरीका सामान खरिद गर्ने अन्य दुईजना समेत पक्राउ परेका हुन् । कर्णले चोरेका ल्यापटप खरिद गर्ने दिपक साह र मगन विश्वासलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनीहरुकै साथबाट तीनथान ल्यापटप समेत बरामद गरिएको छ । पक्राउ गरिएकाहरुमाथि चोरी कसूरमा अनुसन्धान सुरु गरिएको छ ।

दशदिन अगाडी गत चैत २१ गते मोरङको कटहरी गाउँपालिका–१ स्थित बैैष्णु फर्निचर उद्योगका औजार नै चोरी भए । फर्निचर बनाउन प्रयोग गरिने रन्दा, हेण्डकटर, जेक्सो, एलईडी टिभी, मोवायल, पानी तान्ने मोटरसहित हाते औजार चोरी भएपछि पीडित जहदा–४ कुशवाहका रतनकुमार कोईरीले प्रहरीमा उजुरी गरे । पीडितको उजुरीका आधारमा प्रहरीले चैत २४ मा विराटनगर–८ का अर्जुन मुखिया, धर्मेन्द्र राय, लक्ष्मी यादव र दिपेशकुमार रायलाई प्रहरीले नियन्त्रणमा लिएर चोरी कसूरमा अनुसन्धान सुरु गरेको छ ।

चोरीका यी प्रतिनिधिमूलक घटना मात्रै हुन् । पछिल्लो समय शहरी क्षेत्रमा चोरको बिगबिगी भएपछि प्रहरी भने रातभर जागै बस्न थालेको छ । खासगरी मूख्य शहरहरुमा चोरीका घटना अपत्यारिलो रुपमा बढेपछि सादा पोशाकका प्रहरीलाई रातभर गस्तीमा खटाइएको हो ।
चोरको निगरानी बढाउन प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङले सादा पोशाकमा ५० जना प्रहरीलाई परिचालन गरिरहेको छ । चोर झोड्न रातभर जाग्राम बस्ने प्रहरीलाई बिहान सुत्न छुट दिइएको छ । बिहानपख मर्निङ्गवाकमा मान्छेहरु ननिस्किदाँसम्म सादा पोशाकमा खटिएका प्रहरीहरु सुत्न नफर्कने गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरत २० जना र जिल्ला प्रहरी कार्यालय मोरङका ३० जना गरि ५० जना प्रहरीलाई दशवटा ब्लकमा परिचालन गरिएको छ ।
सादा पोशाकका प्रहरीले पुराना चोरीको अभियोग लागेकाहरुको निगरानीदेखि चोरीमा संलग्न सुरु गरेका नयाँ चोरहरुको समेत निगरानी गर्दै आएको छ । रातको ११ बजेदेखि ३ बजेसम्म लगातार शहरका विभिन्न स्थानबाट प्रहरीले विशेष निगरानी गर्ने र शंकास्पद अवस्थामा फेला परेका व्यक्तिहरुलाई पछ्याउनेसम्मको काम हुने गरेको उपरीक्षक खड्काले दावी गर्नुभयो ।
शहरमा परिचालित सादा पोशाकका प्रहरीहरु टोलटोलमा बिभाजित भएर निगरानी गर्ने गरेका छन् । त्यसका लागि चोरीमा यस अगाडी संलग्न भई सजाय कटाईसकेका व्यक्तिहरुको नाम नामेसी नै तयार गरिएको छ । यो अभियान सुरु गरिएसँगै हालसम्म ४२ जनालाई प्रहरीले मध्यरातमा सोधपुछ गरिसकेको छ ।

चोरी गर्दै गरेको र शंकास्पद अवस्थामा फेला पारिएका १८ जना रहेका छन् । यीमध्येपनि ११ जनालाई दसी प्रमाणसहित नियन्त्रणमा लिएर चोरी कसूर आरोपमा अनुसन्धान भईरहेको र दसी प्रमाण फेला नपारिएका बाँकी ७ जनामाथि थप अनुसन्धान भईरहेको उपरीक्षक खड्काले जानकारी दिनुभयो । घर फोड्नेदेखि, ल्यापटप र मोवायल चोर्नेसम्मका चोरहरुको रातभर निगरानी गरिएपछि पछिल्लो साता चोरीका घटनामा केहि कमी आएको दावी प्रहरीले गरेको छ ।
विराटनगर मात्रै नभई इटहरीमा समेत उतिकै चोरीका घटना हुन गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले फागुन १५ गतेदेखिपछि पन्ध्र दिनको अवधीमा मात्रै चोरीका विभिन्न घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्