चिकित्सकको लापवाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै सातदिनदेखि नोबेलमै शव छोडेर आफन्त आन्दोलित

चिकित्सकको लापवाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै सातदिनदेखि नोबेलमै शव छोडेर आफन्त आन्दोलित

विराटनगर । प्रसुति गराउने क्रममा भ्याकुमले जर्बरजस्ती तानेर शिशुको मृत्यु भएको दावी गर्दै आफन्तले सातादेखि शव बुझ्न अस्वीकार गर्दै आन्दोलन गरिरहेका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेजको प्रसुती विभागका चिकित्सकलाई कारवाहीको माग गर्दै उनीहरु आन्दोलित भएका हुन् ।

इटहरी उपमहानगरपालिका–१ आपँगाछी निवासी सरिता प्रधानलाई प्रसुति गराउने क्रममा गत चैत २५ गते डा.मधु साहले भ्याकुम प्रयोग गरेको आफन्तको दावी छ । आमा र आफन्तको ईच्छा विपरित भ्याकुमले बारम्बार शिशु तान्दा टाउकोमा प्वाल, छातीमा रगत जम्नुका साथै जीउभरी निलडाम देखिएपछि आफन्त विरोधमा रहेका हुन् ।

भ्याकुम प्रयोग गरेर निकालिएको शिशुलाई जन्मिनेवित्तिकै एनआईसीयूमा राखिएको र तीन घण्टामा मृत्यु भएको जानकारी आफूहरुलाई दिइएको सरिताका श्रीमान मनिषले बताए । उनीहरुले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर चिकित्सकलाई कारवाही हुनुपर्ने माग गर्दै नोबेलले दिने भनेको क्षतिपूर्ति अस्वीकार गर्ने दावी गरेका हुन् ।
आफन्तले शिशुको मृत्युपछि अहिलेसम्म अस्पतालबाट शव बुझेका छैनन् । सातदिनदेखि नवजात शिशुको शव अस्पतालमै छ ।
शिशुकी आमालाई आइतबार डिस्चार्ज गरी घर लगिसकिएको छ । अस्पतालमै राख्दा मानसिक समस्या हुनसक्ने संभावना देखियो, श्रीमान् मनिषले भने–जन्मिएको छोरालाई अस्पतालले मारिदिएपनि आमाको स्वास्थ्यमा परिवारले ख्याल गर्नुपर्ने अवस्था छ ।

लापरवाही गर्नेलाई कारवाही प्रक्रिया अघि नबढेसम्म शव जिम्मा नलिने स्थानीय होमेश्वर ठाकुरले दावी गरेका छन् । शिशुको मृत्युपछि आफन्तसँग अस्पताल प्रशासनले तीन पटक छलफल गरेको छ । छलफलमा एकलाख रुपैयाँ क्षतिपूर्ति लिएर शव बुझ्न दबाव दिएको थियो । आफन्तले भने चिकित्सकलाई कारवाही गर्नुपर्ने माग गरेका हुन् ।

मृत्युको कारण ‘हर्ट डिजिज’ बताउँदै आफन्तलाई शव बुझ्न आग्रह गरिएपनि अहिलेसम्म उनीहरुले अस्वीकार गरेको अस्पताल प्रशासनको भनाई छ । तर, नोबेलको प्रसुती विभाग अन्तर्गत डा.सीता घिमिरेसहितका चिकित्सकहरुको टोलिले प्रसुती व्यथा लाग्नु अगाडीसम्म आमा र बच्चाको स्वास्थ्य अवस्था नर्मल रहेको जानकारी दिएका थिए । बच्चा जन्माउनका लागि उनीहरु चैत २४ गते नै अस्पताल आएर भर्ना भएका हुन् । चैत २५ गते साँझ ५ः३० बजे भ्याकुम प्रयोग गरेर शिशु निकालिएको थियो । शल्याक्रिया गरेर निकाल्न आग्रह गर्दा चिकित्सककै मनलाग्दी निर्णयका आधारमा भ्याकुम प्रयोग गरिएको पीडित आफन्त सीमा श्रेष्ठको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्