प्राङ्गारिक उत्पादनलाई जोड दिदैं राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ

प्राङ्गारिक उत्पादनलाई जोड दिदैं राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ

काठमाडौँ

प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिनाअघि स्थापना भएको बैंकको बिहीबार नयाँबानेश्वर स्थित केन्द्रीय कार्यालय शुभारम्भ गरिएको हो । बैंकका अध्यक्ष शङ्करनाथ उप्रेतीले कृषिमा परनिर्भरता घटाउँदै प्राङ्गारिक उत्पादनमा जोड दिने उद्देश्यका साथ बैंक स्थापना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार रु दुई अर्ब लगानीमा बैंक स्थापना गरिएको हो ।

बैंकमा हालसम्म ५९० प्रमोटर शेयर सदस्य छन् । उक्त सङ्ख्यालाई बढाएर एक हजार जना बनाउने तयारी भइरहेको छ । आवश्यक मापदण्ड पूरा गरी छिट्टै सर्वसाधारणका लागि आइपिओ जारी गर्ने समेत तयारी भएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । “हामीले कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैंक स्थापना भएको हो । बैंकमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्छौँ । किसानसँग सहकार्य गर्दै उत्पादन बढाउँछौँ”, उहाँले भन्नुभयो ।

बैंकले पहिलो चरणमा २३ जिल्लामा चालु आर्थिक वर्षभित्रै कृषि उत्पादनको काम शुरु गर्ने तयारी गरेको छ । जसका लागि तराईका विभिन्न जिल्लामा ६०० बिघा जग्गा भाडामा समेत लिइसकेको छ । जसमा कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रुपन्देहीसहित १३ जिल्लामा जग्गा लिएर उत्पादन शुरु गरिसकेको छ भने झापा, मोरङ, सुनसरी लगायत जिल्लामा थप जग्गा लिने तयारी पूरा भएको जनाइएको छ । खाद्य बैंक स्थापना गर्नुको मुख्य उद्देश्य कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र प्राङ्गारिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्