काममा हुने ढिला सुस्ती स्वीकार्य नहुने बताउदै प्रधानमन्त्री ओली द्वारा अनलाइन ‘एप’ को उद्घाटन

काममा हुने ढिला सुस्ती स्वीकार्य नहुने बताउदै प्रधानमन्त्री  ओली द्वारा  अनलाइन ‘एप’ को  उद्घाटन

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले बहाना बनाई काममा हुने ढिला सुस्ती स्वीकार्य नहुने बताउनुभएको छ । नापी कार्यालयहरूबाट नाप नक्सा लगायतका सेवा प्रवाहको कार्यलाई प्रविधिमैत्री बनाउन नापी विभागद्वारा निमार्ण गरिएको नेलिस र मेरो कित्ता नामक अनलाइन ‘एप’ को आज उद्घाटन गर्नुहुँदै ओलीले सरकार नयाँ काम गरी प्रत्येक दिन एक पाइला अघि बढिरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा अनावश्यक ढिलासुस्ती भइरहेको भन्नुहुँदै यो वा त्यो बहानामा हुने कुनै पनि प्रकारका ढिलासुस्ती स्वीकार्य नहुने उहाले बताउनुभयो । नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै मुलुकलाई आत्मनिर्भर बनाउन लगानी भित्र्याउने र टेक्नोलोजीको समेत विकास गरिने ओलीले बताउनुभयो ।

डिजिटल नेपाल अभियान अन्तर्गत सरकारले पछिल्लो एक वर्षमा उल्लेख्य प्रगति हासिल गरेको बताउनुभयो । उहाँले भूमि सम्बन्धी समस्या समाधान गर्न विभिन्न कार्यक्रम अघि सारिएको जानकारी दिनभयो । प्रधानमन्त्री ओलीले नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर भएको उल्लेख गर्नुहुँदै हाम्रा आनीबानीमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो । फेरी कोभिडको सङ्क्रमण बढ्न थालेकाले स्वास्थ्य मापदण्डको पालना गर्दै सतर्क र सचेत रहन सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले नेलिस र मेरो कित्ता एपको सञ्चालनले मालपोत कार्यालय र नापी कार्यालयहरूमा हुने गरेको ढिलासुस्ती र व्यथिति अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । प्राविधिक कमजोरी देखाउँदै सेवा प्रवाह रोक्ने प्रवृत्तिको अन्त्य गरी प्रभावकारी सेवा प्रदान गर्न कर्मचारीहरूलाई तुम्बाहाम्फेले निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा नापी विभागका महानिर्देशक प्रकाश जोशीले जग्गाको कामलाई सरल बनाउन एपको विकास गरिएको भन्नुहुँदै यसबाट सेवा प्रवाहमा हुने गरेको जटिलता र दोहोरोपनाको अन्त्य हुने बताउनुभयो । जोशीले नेलिस एप प्रणालीमार्फत जग्गा दर्ता र नक्सा अद्यावधिक गर्नुका साथै मेरो कित्ता प्रणालीमार्फत नक्सा, फल्डबुक र प्लट रजिष्टर प्रिन्ट सम्बन्धी सेवा घरबाटै लिन सकिने जानकारी दिनुभयो ।
नेलिस र मेरो कित्ता प्रणाली पहिलो चरणमा नापी कार्यालयहरू कलङ्की, डिल्ली बजार र भक्तपुरबाट सुरु गरी बिस्तारै सबै कार्यलयहरुमा लागु गरिने छ ।

-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्