सगरमाथा आधार शिविरमा पुगेका नर्वेका एक आरोहीलाई कोरोना सङ्क्रमण भएको आशङ्का

सगरमाथा आधार शिविरमा  पुगेका नर्वेका एक आरोहीलाई  कोरोना सङ्क्रमण भएको आशङ्का

काठमाडौं

सगरमाथा आधार शिविरमा (पाँच हजार ३६४ मिटर) पुगेका एक आरोहीमा कोरोना सङ्क्रमण भएको आशङ्का गरिएको छ ।
६ दिन अघि आधार शिविरमा सिकिस्त विरामी भएपछि काठमाडौं ल्याइएका नर्वेका आरोहीको स्वाब परीक्षण गर्ने क्रममा कोरोना भएको आशङ्का गरिएको आधार शिविरमा स्थापना गरिएको हिमालयन रेस्क्यु एशोसिएशनको हेल्थ क्याम्पमा कार्यरत डाक्टर सुरज श्रेष्ठले बताउनुभयो ।

पर्यटन विभागले पनि ती आरोहीलाई निमोनियाँ भएको जानकरी अस्पतालले दिएकाले आधार शिविरमा सजगता अपनाउन र स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको जनाएको छ ।
कोरोना भएको हुन सक्ने जानकारी भएपछि उक्त आरोहण दलका सदस्यलाई एक साता क्वारेन्टाइन बस्न लगाइएको छ । उहाँहरूलाई टेन्टभन्दा बाहिर आवतजावत नगर्न भनिएको छ । स्वास्थ्य मापदण्ड पालनामा सरकारले कडाइ गरे पनि उच्च क्षेत्रमा समेत कोरोना पुष्टि भएपछि आरोहीहरु त्रसित बनेका छन् । एजेन्सीका कर्मचारी र आरोही काठमाडौंबाट हेलिकप्टरमा आधार शिविर पुग्ने र आधार शिविरबाट काठमाडौं सिधा आवतजावत गर्ने गरेपछि कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने एजेन्सीहरुले अनुमान गरेका छन् ।

आरोहीहरुमा श्वास फेर्न गाह्रो हुने, भोक लाग्ने, सुख्खा खोकी जस्ता समस्या फैलिएपछि उच्च सर्तकता अपनाउन सुझाव दिएको सगरमाथा आधार शिविरमा स्थापना गरिएको हिमालयन रेस्क्यु एशोसिएसनको हेल्थ क्याम्पमा कार्यरत डाक्टर सुरज श्रेष्ठले बताउनुभयो ।
आधार शिविरमा ४० बढी देशबाट आरोहणका लागि आरोही आएका छन् । यस वर्ष ३७१ जनाले सगरमाथाको आरोहणका लागि अनुमती लिएका छन भने, पुमोरी आरोहणका लागि पाँच जना, ल्होत्से हिमालका लागि १०४ रनुप्से हिमालका लागि २३ जना गरी ५०३ जना आरोहीले आरोहण अनुति लिएका छन् । यी चार वटै हिमाल एउटै आधारशिविर भएर आरोहण हुने भएकाले सगरमाथा आधार शिविरमा भीड बढेको छ । हाल आधार शिविरमा आरोही, गाइड, कामदार गरी करिब १२ सय जनाभन्दा बढी रहेको एजेन्सीहरुले जनाएका छन् ।

आधार शिविरमा बिरामी भएर रेस्क्यू गरिएका व्यक्तिमा कोरोनाको जस्तो लक्षण देखिएपछि आधारशिविर पनि सुरक्षित नभएको पाइएको हिमालयन रेस्क्यु एसोसिएसन आधार शिविर हेल्थ क्याम्पका प्रमुख लाक्पा शेर्पाले जानकारी दिनुभयो । सङ्क्रमित आरोहण दलका सदस्यलाई एक साता क्वारेन्टाइनमा बस्न भने पनि थप परीक्षण जरुरी हुन सक्ने भन्दै यसमा पर्यटन विभागले चासो दिन शेर्पाले माग गर्नुभयो ।
आधार शिविरमा यो महिना सन् २०१९ मा भन्दा पनि बढी आरोहीले रहेकाले भीड बढी हुने पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताउनुभयो । कोरोना पुष्टि भनिए पनि अस्पतालले भने निमोनिया भएको भनेर जानकारी दिएको छ, तर आधार शिविरमा उच्च सर्कता अपनाउन र स्वास्थ्य मापदण्ड पालनागर्न कडाइका साथ निर्देशन दिइएको महानिर्देशक तामाङले जानकारी दिनुभयो ।

तर सरकारले खटाएका सम्पर्क अधिकृतहरु भने बुधबारसम्म एक जना पनि आधारशिविर पुग्न सकेको छैन । कम्पनीहरुका अनुसार सम्पर्क अधिकृत नहुँदा मापदण्ड पालना गराउन र सतर्कता अपनाउन समन्वयको अभाव भएको जनाएको छ । सम्पर्क अधिकृतहरु आरोहणदलका सदस्यहरुको साथमै आधारशिविर पुगेर आरोहण सम्पन्न भएपछि मात्र फर्कनुपर्ने कानुनी प्रावधान छ तर ३९ जनामध्ये एक जना पनि सम्पर्क अधिकृत आधारशिविर नपुग्दा गैरकानुनी गतिविधि हुने गरेको आरोही गाइड लाक्पा शेर्पाले बताउनुभयो । विभागले यसै महिनामात्र १६ वटा हिमालआरोहण अनुमति बापत ४९ करोड ४२ लाख राजस्व सङ्कलन गरेको छ । -गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्