बेनी
लामो समयपछि बुधबारदेखि शुरु भएको हिमपातले हिमालपारीको जिल्ला मुस्ताङको भ्रमणमा रहेका आन्तरीक तथा बाह्य पर्यटकहरु उत्साहित भएका छन् । बुधबार उपल्लो मुस्ताङका साथै मुक्तिनाथ क्षेत्रमा हिमपात भएकोमा बिहिबार बिहानैदेखि तल्लो भेगको जोमसोम लगायतका क्षेत्रमा हिमपात भएको छ ।
बुधबार दिउँसोदेखि मुस्ताङको अधिकांश क्षेत्रमा पानी परेसँगै हिमपात भएपछि पर्यटकहरु उत्साहित भएका हुन् । खुपार्नीको दाना लागि सकेको भए पनि स्याउ फुल्ने समय भएकाले अहिलेको हिमपात अलिक बढी भएको खण्डमा स्याउलाई असर गर्ने जोमसोमका कृषक राजेन्द्र शेरचनको भनाइ छ । अहिले मुस्ताङ क्षेत्रमा परेको हिउँका कारण मुस्ताङको मुख्य अन्नबाली उवा तथा जौँलाई भने अलिक बढी नै असर गर्छ शेरचनले भने ।
जौँ तथा उवाको बाला लागिसकेकोले हिउँ बढी समय रहेको खण्डमा क्षती हुन सक्ने कृषकको भनाई छ । उवा र जौँ जस्तो स्याउका लागि क्षति नहुने भए पनि हिउँ छिटो नपग्लेको खण्डमा भने उत्पादनमा कमी हुने मार्फाका कृषक दिपक लालचनको भनाई छ । -गोरखापत्र अनलाइन