झापा
झापाको गौरादहमा २५ सैयाको अस्पताल संचालनमा आउने भएको छ । मेडिम्याक्स अस्पताल प्रा.ली. गौरादह– १ ले जेठको दोस्रो साताबाट डिपु चोकदेखि ३०० मिटर पूर्व बजार लाइनमा भाडाको घरमा सो अस्पताल संचालन गर्नेभएको हो ।
अस्पतालमा आकस्मिक सेवा, हाइकेयर युनिट, सुविधासम्पन्न सल्यक्रिया कक्ष, प्याथोलोजी, इन्डोस्कोपी, अल्ट्रासाउण्ड, एक्सरे, कार्डियो इसिजि लगाएतका थुप्रै सेवाहरु रहने संचालक डा. तिलक खनालले बताए । उनका अनुसार अस्पतालमा सर्जन, स्त्रीरोग विशेषज्ञ र फिजिसियन गरी तीनजना चिकित्सकहरुले नियमित रुपमा दैनिक सेवा उपलब्ध गराउने छन् ।
प्रसुति वार्ड तथा प्रसुति सल्यक्रिया कक्ष, डाइबिटिज वार्ड तथा डाइबिटिज केयरिङ डेक्स, लगाएतका बिभिन्न महत्वपूर्ण वार्डहरु अस्पताल संचालन भएकै दिन देखि संचालन गरिने त्यसैगरी अस्पतालमा विशेषज्ञ सेवा मुटुरोग, हाडजोर्नी, छाला रोग, बाल रोग लागाएतको सेवा पनि उपलब्ध गराइने अस्पताल श्रोतले जनाएको छ ।
करिब ३ करोडको लगानिमा संचालनमा ल्याउन लागिएको सो अस्पताल संचालनमा आएपछि उपचारका लागि गौरादह क्षेत्रका बिरामीले दमक, विर्तामोड, धरान र विराटनगर धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको अस्पताल संचालन बोर्डका अध्यक्ष बुद्धिमान कार्कीले बताए ।
विरामीहरूको उपचारका लागि आवश्यक आधुनिक उपकरणहरू खरिदको तथा सेटअपको व्यवस्था मिलाइ सकेको जानकारी दिँदै कार्कीले गौरादहमा सहज स्वास्थ्य सेवाको स्थापनाका लागि तयारी अन्तिम चरणमा पुगेको बताए ।
अस्पताल सञ्चालनमा आएसंगै अनुभवि डाक्टरहरु, नर्स लगायात ५० जना जनशक्तिलाई रोजगारीको अवसर जुट्नुका साथै उक्त अस्पतालबाट गौरादह नगरभरिका नागरिकसहित कमल र गौरीगञ्ज गउँपालिकाका स्थानियले पनि सेवा पाउने भएका छन् ।
गौरादहका स्थानीय समाजसेवी, उद्योगी तथा ब्यवसायीहरुको लगानीमा संचालित यस मेडिम्याक्स अस्पतालको संचालक समितिमा अध्यक्ष बुद्धिमान कार्की, प्रबन्ध संचालक टेकबहादुर कार्की र संचालकहरुमा डा. तिलक खनाल, टिकाप्रसाद श्रेष्ठ, पुण्य सिग्देल, बिनिता कटवाल र नारायण घिमिरे सहित सातजना रहेका छन् ।
अस्पताल नयाँ बर्ष २०७८ बैशाखबाट संचालन गर्ने तयारी गरिएको भएता पनि भौतिक निर्माण र प्राबिधिक तयारी नपुगेको कारण जेठको दोस्रो हप्ताबाट भने संचालन हुने अन्तिम तयारी रहेको बताइएको छ ।