गड्डाचौकी नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरी भारतबाट स्वदेश फर्किनेको कोरोनाको नमूना परीक्षण गरिदैं

<span class='c1'>गड्डाचौकी नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरी भारतबाट</span> <span class='c2'>स्वदेश फर्किनेको कोरोनाको नमूना परीक्षण गरिदैं</span>

महेन्द्रनगर

स्वास्थ्य कार्यालय कञ्चनपुरले गत चैतको पहिलो सातादेखि यहाँको गड्डाचौकी नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरी भारतबाट स्वदेश फर्किनेको कोरोनाको नमूना परीक्षण थाल्यो ।

लामो समयदेखि भारतको विभिन्न क्षेत्रमा छरिएर रोजगारीका लागि परिश्रम गरिरहेका सुदूरपश्चिमवासी भारतका केही प्रान्तमा कोरोना सङ्क्रमण पुनः फैलिन थालेपछि स्वदेश फर्किन थालेका थिए । नयाँ वर्षलाई विशु पर्वका रुपमा सुदूरपश्चिम प्रदेशमा मनाउन भारतबाट यहाँका नाकाबाट स्वदेश फर्किनेको लर्को भएसँगै नमूना परीक्षण थालेको स्वास्थ्यको टोलीले आउने सबैको कोरोना परीक्षण गर्न सीमामा सम्भव भएनन् ।

“दैनिक एक हजारदेखि एक हजार ५०० जति गौरीफन्टा नाकाबाट नेपाली घर आउँदा हामीले ३०० को हाराहारीमा कोरोना परीक्षण गर्दा दश प्रतिशतमा पोजेटिभ देखिन्थ्यो ।” गौरीफन्टा नाकाको डोकेबजारमा खटिएका अहेब गणेश साउँदले भन्नुभयो, “अहिले सङ्क्रमण देखिने दर दोब्बरले बढे पनि सीमामा स्वास्थ्य परीक्षण प्रभावकारी हुन सकेन ।” पहिलोपटक गत वर्ष चैतमा मुलुकमै सबैभन्दा पहिले लकडाउन गरेको कञ्चनपुर स्थानीय प्रशासनले केही सातायता कोरोना सङ्क्रमणको दर ह्वात्तै बढ्दा त्यसको व्यवस्थापनका लागि गतिलो प्रयास गर्न सकिरहेको छैन ।

विगतमा यहाँका नौवटै स्थानीय तहले पालिकास्तरमै आइसोलेसन कक्ष बनाउनुका साथै स्वास्थ्य सावधानीका लागि सक्रियता देखाए पनि दोस्रो पटकको सङ्क्रमण महामारीका रुपमा फैलिँदा पहलकदमी भने देखिएको छैन । भीमदत्त नगरपालिकाले नेपाली सेनाको सहयोगमा अघिल्लो वर्ष स्थापना गरेको १०० श्ययाको आइसोलेसन कक्षमा सङ्क्रमतिको व्यवस्थापन गर्न थालिएको छ । दोस्रो पटक सङ्क्रमण दर समुदायस्तरमा फैलिएसँगै यहाँको महाकाली अस्पतालमा दिनहुँ कोरोना परीक्षण गराउनेको भीड बढ्न थालेको छ । महाकाली अस्पतालका डा गोविन्द रोकायाले स्थानीयस्तरमा समेत कोरोना सङ्क्रमण भयावह रहेको बताउनुभयो ।

“हामी दैनिक यहाँ पिसिआर विधिबाट ५० जनाको कोरोना परीक्षण गरिरहेका छौँ ।” उहाँले भन्नुभयो, “तीमध्ये ७० देखि ८० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ ।” उहाँले कोरोना सङ्क्रमितको चाप बढ्न थालेपछि अस्पतालमा रहेको जनरल आइसियु वडामा कोरोना सङ्क्रमित राखेरसमेत उपचार थालिएको छ । “भारतबाट आउनेमध्ये धेरैलाई बिना लक्षण कोरोना देखिने गरेको छ ।” उहाँले भन्नुभयो, “स्थानीयमा भने लक्षणसहितको कोरोना देखिने क्रम बढेको छ ।” महाकाली अस्पतालमा हाल २६ जना सङ्क्रमितको उपचार भइरहेको छ । जसमध्ये छ जना बिरामीको आइसियुमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले सीमा क्षेत्रमा कोरोना परीक्षणका लागि गरिएको व्यवस्थापनदेखि कोरोना अस्पताल, आइसोलेसन कक्षसम्म प्रहरी खटिएको बताउनुभयो । “आइसिएचमा रहेको आइसोलेसनमा अहिले ५० देखि ६० जना सङ्क्रमित रहेका छन् ।” उहाँले भन्नुभयो, “लक्षण देखिए अस्पताल पठाउने गरिएको छ ।” दुई दिन अघिदेखि स्थानीय प्रशासनले यहाँ आंशिक निषेधाज्ञा जारी गरेको छ ।प्रशासनले यस्तै सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, हाटबजार, फुटसल बन्द गर्न आदेश दिइएको छ ।

यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सहकारीलगायतका सङ्घ संस्था विद्युतीय माध्यमबाट सञ्चालन गर्ने र सम्भव नभए जनस्वास्थ्यको मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिइएको छ । यता भीमदत्त नगरपालिकाले आजसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ । कोरोनाका कारण लयमा फर्किन थालेको यहाँको निजी क्षेत्र र शैक्षिक क्षेत्र पुनः प्रभावित हुन थालेको छ ।

यहाँका विद्यालय कोरोना कहरका कारण बन्द गरिएका छन् भने व्यापारी पनि कोरोनाका कारण व्यापार घटेको बताउँछन् । केही समयअघि कोरोना सामान्य बन्दै गएका बेला पश्चिमी नाका पुनः सुचारु गर्न माग गरिरहेका यहाँको निजी क्षेत्र अहिले फेरि प्रभावित बन्ने पुगेको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले कोरोना सङ्क्रमणबाट बच्न उद्योग, व्यापारीले पनि सुरक्षा सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

“भारतसित नजिकको सिमाना जोडिएकाले पनि यहाँ सङ्क्रमणको दर उच्च हुँदैछ ।” उहाँले भन्नुभयो, “सरकारले दिएको स्वास्थ्य निर्देशनको पालना गर्न सबैमा अनुरोध गर्दछु ।” उहाँले सीमानाकामा कोरोना परीक्षणको दायरा बढाउनुका साथै स्वास्थ्य सुरक्षामा सरकारले विशेष जोड दिनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्