झापाका चार अस्पतालमा आफ्नै अक्सिजन प्लान्टको निर्माण सुरु

झापाका चार अस्पतालमा आफ्नै अक्सिजन प्लान्टको निर्माण सुरु

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चार वटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन् ।

मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको रु ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ । कोभिड–१९ सङ्क्रमितको उपचारका लािग ७५ श्ययाको अलग अस्पतालसमेत सञ्चालन गरिरहेको मेची अस्पताल भद्रपुरमा रहेको छ । विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बिएन्डसी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन् ।

मनमोहन सामुदायिक अस्पतालले विगत चार महिनादेखि नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको जनाएको छ । झापामा पहिलो अक्सिजन प्लान्ट सञ्चालन गर्ने मनमोहन सामुदायिक अस्पतालका निर्देशक रोमणि भट्टराईले दैनिक १८ वटा सिलिण्डर अक्सिजन उत्पादन भइरहेको बताए। चार महिनाअघि शुभारम्भ कम्पनीसँगको साझेदारीमा प्लान्ट निर्माण गरिएको र उत्पादन हुन थालेपछि अक्सिजन बाहिरबाट खरिद गर्नुपर्ने झन्झटबाट अस्पतालमुक्त भएको उनले बताए ।

उहाँका अनुसार अस्पतालले प्रतिमहिना रु एक लाख ९५ हजारका दरले कम्पनीलाई रकम बुझाएपछि पाँच वर्षपछि मात्र प्लान्ट अस्पतालको स्वामित्वमा आउने शर्त रहेको छ । आवश्यक अक्सिजनका सिलिन्डर निजी सप्लायर्सबाट खरिद गर्दै आएका अस्पतालले आफ्नै प्लान्ट भएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने र आपूर्ति व्यवस्था भरपर्दो हुने विश्वास लिएका छन् ।

मेची अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्ट बनाउन लागिएको छ । ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिण्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँँदै आएको छ । कोभिडका बिरामी बढ्दै जाँदा अक्सिजनको माग अरु बढ्ने उनले बताए । बिएण्डसी हस्पिटलले पनि वैशाखभित्रै आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने जनाएको छ ।

आफ्नै परिसरमा पूर्वाञ्चल क्यान्सर अस्पतालसमेत सञ्चालन गर्दै आएको बिएन्डसी हस्पिटलमा दैनिक ३५ देखि ४० वटा सिलिण्डर खपत भइरहेको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । “सबै बिरामीलाई अक्सिजन चाहिँदैन”, हस्पिटलका जनसम्पर्क अधिकृत गिरीले भने, “आइसियु र जटिल समस्या भएका बिरामीलाई चाहिने हुँदा अहिले यतिले पुग्दैछ ।” हस्पिटलले हरेक श्यया र इमर्जेन्सी कक्षमा अक्सिजनको पाइपलाइन पु¥याएको छ ।

कोभिड–१९ को सङ्क्रमण बढेसँगै अक्सिजनसमेत थप चाहिने हुँदा दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने तयारीका साथ प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ । बिएन्डसी हस्पिटलले प्लान्ट निर्माणमा रु पाँच करोड लगानी भइसकेको जनाएको छ । हाल अस्पतालले सुनसरीको इटहरीस्थित निजी सप्लायर्सबाट अक्सिजन खरिद गर्दै आएको छ । भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले आगामी असार मसान्तभित्रै अक्सिजनको आफ्नै प्लान्ट सञ्चालनमा ल्याउने जनाएको छ ।

हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले हाल प्लान्टको पाइपलाइन जडान कार्य भइरहेको जनाउँदै रु ६० लाखको लागतमा अक्सिजनको प्लान्ट जडान गरिने बताए । विर्तामोडको जलकन्या सप्लायर्सबाट हाल अक्सिजनको सिलिण्डर खरिद गरिँदै आएको उनले जानकारी दिए । झापाको मेची प्रादेशिक अस्पताल, विर्तामोडको बिएन्डसी हस्पिटल र भदपुरको ओमसाई पाथिभरा हस्पिटलमा सरकारी स्वास्थ्य बीमा कार्यक्रम लागू भइसकेको छ । विर्तामोडमा रहेको विर्तासिटी अस्पतालले नयाँ भवन निर्माणाधीन रहेको हुँदा सोही भवनमा अक्सिजनको प्लान्ट राखिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्