अक्सिजन अभाव हुने आशङ्कामा आवश्यकता भन्दा बढी भण्डारण सुरु

अक्सिजन अभाव हुने आशङ्कामा  आवश्यकता  भन्दा बढी भण्डारण सुरु

काठमाडौँ

नयाँ भेरियन्टसहित दोस्रो लहरसंगै बढिरहेको कोरोनाले अहिलेको अवस्थामा विषम परिस्थिति पैदा हुने सङ्केत देखा परेको छ। जसबाट बच्नलाई विषयमा सरकारले गम्भीर कदम चाल्नुपर्ने देखिएको छ । विगतमा पनि ग्यास, खाद्यान्न तथा अन्य आवश्यकीय वस्तुहरु साँच्चिकै अभाव भएर नभई कृत्रिम अभाव सिर्जना गर्ने र मानिसले चाहिए भन्दा बढी भण्डारण गर्ने गर्दा समस्या निम्तिएका उदाहरण प्रशस्त छन् जुन फेरी पनि नदोहोरिएला भन्न सकिन्न।

नेपाल अक्सिजन उत्पादक सङ्घले जनाएअनुसार अहिले नेपालमा अक्सिजन पर्याप्त मात्रामा छ । माग कम भएकैले उद्योग पूर्ण क्षमतामा चलेकै छैन तर पनि अनावश्यक हल्लाका कारण अक्सिजन अभाव हुने आशङ्कामा अहिले मानिसले आवश्यकता भन्दा बढी भण्डारण गर्न थालेकाले समस्या उत्पन्न हुने हो की भन्ने शङ्का देखिएको छ । सिलिन्डर (भाँडो) भने सीमित रहेको अध्यक्ष शारडाले स्वीकारे ।

“पर्याप्त सिलिन्डर हुने हो भने कुनै समस्या आउने थिएन, नेपालमा सिलिण्डर नबन्ने, यसअघि चालु रहेका सिलिन्डर सीमित छ, त्यही सिलिन्डर मानिसले घरमा राख्यो भने समस्या हुने नै भयो, त्यसैले सिलिन्डर खरिदका लागि सरकारलाई सुझाव दिएका छौँ”, अध्यक्ष शारडाले भने ।

नेपालमा साविकभन्दा निक्कै बढी अक्सिजन उत्पादन भइरहेको छ । गत वर्षको यो समयमा २० प्रतिशत मात्रै अक्सिजन उत्पादन भएको थियो । तर यसपटक भारतमा देखिएको अभावले नेपालमा खपत ह्वात्तै बढेको छ । तर त्यो प्रयोग हुनुभन्दा पनि स्टकमा गएको अनुमान सङ्घको छ । अभाव हुने हल्ला सुनेका मानिसले मात्रै होइन, अस्पतालले समेत अक्सिजन सिलिन्डर स्टक राख्न लागेका छन् ।

“नेपालमा क्षमताअनुसारको अक्सिजन उद्योग चलेकै छैन, त्यो सबै चल्यो भने दैनिक आठ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिन्छ, त्यसले नेपालको पूरै माग धान्छ, भारतमा अभाव भएको कारणले नेपालमा पनि अभाव हुन्छ की भनेर व्यक्तिले र केही अस्पतालले सिलिन्डर स्टक राख्न थाल्नु नै अक्सिजन अभावको मूल समस्या हो ।”शारडाले बताए। अझ विभिन्न अस्पतालले चलाइरहेको प्लान्टको उत्पादन त छुट्टै छ ।

काठमाडौँमा अहिले दैनिक पाँच देखि ६ हजार सिलिन्डर अक्सिजनको माग रहेको छ जुन पूरा गर्न अहिले कुनै समस्या छैन । “अलिकति नेपालगञ्ज क्षेत्र र तराईमा केही ठाउँमा माग बढेको छ, पूर्वी नेपालमा क्षमताको २० प्रतिशत पनि उत्पादन भएको छैन, त्यसैले ढुक्क हुनुस् अक्सिजनको अभाव हुँदैन। उनले भने “स्टक राख्ने विषयमा गम्भीर हुनै पर्छ, त्यसरी स्टक राख्न जरुरी नै छैन "।

हाल नेपालमा अक्सिजन उत्पादन गर्ने २४ वटा उद्योग छन् । त्यसमध्ये आठ उद्योग काठमाडौँमा छन् । एउटा उद्योग चलेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल मुलुकका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान भएको छ । ती अस्पतालले दैनिक दुई हजार ५४९ सिलिन्डर अक्सिजन भर्न सक्ने क्षमता राख्छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए । ती अस्पतालमा करिब छ हजार सिलिन्डर भरिएका छन् ।

अक्सिजन बिक्रेताबाट दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने जानकारी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सीमित रहेकाले सिलिन्डर अभाव हुनसक्ने हुँदा सिलिन्डर ल्याउने विषयमा कूटनीतिक पहल जारी रहेको मन्त्रालयले जनाएको छ ।
अक्सिजन व्यवसायीले भने नेपालमा अक्सिजन अभाव नहुने तर सिलिन्डरको अभाव हुनसक्ने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष शारदाले सीसीएमसी र स्वास्थ्य मन्त्रालयसँगको छलफलमा नयाँ सिलिन्डर आयात गर्नेतर्फ सरकारलाई सुझाव दिएको जानकारी दिए । “तत्कालै भारतबाट सिलिन्डर ल्याउन सम्भव देखिँदैन, चीनबाट जिटुजीमार्फत सिलिन्डर ल्याउनुपर्छ” त्यसपछि मात्रै समस्या हटेर जाने उनले बताए ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको बिहीबार अक्सिजन उत्पादक व्यवसायीसँग यसको उपलब्धताका बारेमा छलफल गरेको थियो । घरमा अनावश्यक रुपमा राख्ने, चुहावट हुने र भारत निर्यात हुन थाल्यो भने जटिलता हुने भएकाले त्यसलाई रोक्नुपर्ने माग व्यवसायीहरुले उक्त छलफलमा गरेका थिए ।

नेपालमा निजी क्षेत्रबाटै दैनिक आठ हजार सिलिन्डर अक्सिजन भर्ने क्षमता भए पनि अहिले करिबकरिब पाँच देखि ६ हजार भर्ने गरिएको छ । अस्पताल आफैँले जोडेको प्लान्ट छुट्टै छ । औद्योगिक क्षेत्रमा अक्सिजनको प्रयोग रोकेकाले अभाव नहुनेमा व्यवसायीहरु ढुक्क छन् ।

भारतमा कोभिड–१९ को सङ्क्रमण तीव्र भएकाले आन्तरिक अभाव हुने ठानेर अक्सिजन र सिलिन्डर निर्यातमा प्रतिबन्ध लगाएको थियो । नेपाल सरकारबाट त्यो प्रतिबन्ध खुलाउन कूटनीतिक प्रयास जारी छ । भारतमा अक्सिजनकै अभावमा कयौँले ज्यान गुमाइरहेका विवरणहरू सार्वजनिक भएकाले त्यसको असर हाल नेपालमा परेको हो । नेपालमा पनि बिरामीको चाप बढ्दो क्रममा रहेकाले अक्सिजनको माग बढ्ने निश्चित छ । जसतर्फ बेलैमा ध्यान दिन सकिएन भने भारतको जस्तै अवस्था आउनसक्ने जनस्वास्थ्यविद्हरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्