हलेसी मन्दिर र हाटबजार १५ दिनका लागि बन्द

हलेसी मन्दिर र हाटबजार  १५ दिनका लागि बन्द

खोटाङ

कोभिड–१९ को दोस्रो चरणको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रिधार्मिकधाम हलेसी मन्दिरसहित जिल्लाका विभिन्न ठाउँमा लाग्ने हाटबजार १५ दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङको बसेको आकस्मिक बैठकले दैनिकजसो दर्शनार्थीको भीड लाग्ने त्रिधार्मिकधाम हलेसी मन्दिरसहित जिल्लाका विभिन्न ठाउँमा लाग्ने हाटबजार वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा उपस्थित हुने दर्शनार्थी एवम् तीर्थयात्रीको भीडले एक अर्कामा सङ्क्रमण जोखिम बढ्ने भएकाले १५ दिनका लागि हलेसी मन्दिर बन्द गर्ने निर्णय गरिएको डिसिसिएमसीका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो ।

गत वर्ष कोरोना कहरका बीचमा हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी गुफाको फलामे गेटमा ताला लगाएर बाहिरैबाट पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले हलेसीको गुफा प्रवेशमा रोक लगाइएको यो दोस्रो पटक हो । त्यस्तै बैठकले हलेसीसँगै जिल्लाका सबै मठ, मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चमा दैनिक रुपमा गरिने पूजापाठ, प्रार्थनाबाहेक भेला भएर गरिने पूजा, भजनकिर्तन, कलश यात्रा, बलिपूजाजस्ता धार्मिक कार्यहरु वैशाख मसान्तसम्म बन्द गर्ने÷गराउने निर्णय गरेको केन्द्रले जनाएको छ ।

त्यस्तै बैठकले स्थानीय तहले नाका वा सीमा पार गरी भित्रिने यात्रु तथा व्यक्तिको एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने, स्वास्थ्य सुरक्षा सावधानी तथा भौतिक दूरी कायम गर्न जनचेतनामूलक कार्यक्रम र सन्देश प्रवाह गर्ने÷गराउने निर्णय गरिएको बताइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यसअघि ७१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएका सबै जना उपचारपछि निको भएर घर फर्किसकेको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्