गाउँपालिका अध्यक्ष कुशवाहा सहित वीरगञ्जमा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

गाउँपालिका अध्यक्ष  कुशवाहा सहित वीरगञ्जमा  थप ४ जना कोरोना सङ्क्रमितको  मृत्यु

विरगंज

पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी कुशवाहा सहित वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ३ जनागरी थप ४ जना कोरोना सङ्क्रमितको बीरगंजमा मृत्यु भएको छ ।

विगत एक सातादेखि कोरोना संक्रमित भई बीरगंज रानिघाट स्थित आफ्नै घरमा होम आईशोलेशनमा रहनु भएका कालिकामाई गाउँपालिकाका अध्यक्ष ७९ वर्षीय नथुनी कुशवाहाको आज बिहान २.३० बजे घरमै निधन भएको हो । रुघा, खोकी र ज्वरो नियन्त्रणमा नआउँदा उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

यसैगरी नारायणी अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बीरगंज महानगरपालिका वडा नम्बर १६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १.४५ बजे मृत्यु भएको छ । वैशाख १२ गते कोरोना सङ्क्रमणको कारण श्वासप्रश्वासमा अवरोध भएपछि उपचारार्थ नारायणी अस्पतालमा भर्ना भएकी महिलाको उच्च निमोनियाको कारण मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताउनुभयो ।

त्यसैगरी नारायणी अस्पतालमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ निवासी ७७ वर्षीय पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको छ। वैशाख १० गते अस्पतालमा भर्ना भएका पुरुषको पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र उपचारकै क्रममा उच्च निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि गए राति निधन भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।

त्यसैगरी नारायणी अस्पतालमा गए राति बीरगंज महानगरपालिका वडा नम्बर ३ निवासी ४७ वर्षीया महिलाको पनि कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि वैशाख १४ गते नारायणी अस्पतालमा भर्ना भएकी महिलाको पिसीआर परीक्षणमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । गम्भीर किसिमको निमोनिया बाट पीडित महिलाको गए राति मृत्यु भएको डाक्टर दासले जानकारी दिनुभयो ।
यसैबीच नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय ७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई सय ८८ जनाको पिसीआर परिक्षण गरिएकोमा १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा १ सय ३१ जना पुरुष र ४४ जना महिला रहेका छन् ।
संक्रमित मध्ये १ सय ३१ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका ३४ जना, रौतहटका ३ जना, महोत्तरीका १ जना,सर्लाहीका ५ जना र दाङको १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सङ्क्रमितको उमेर समूह १० वर्षदेखि ७२ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ दशमलव २ देखी ३५ दशमलव २ सम्म रहेको डाक्टर दासले बताउनुभयो।

वैशाख यता बीरगंजमा कोरोना सङ्क्रमणको कारण आज मृत्यु भएका थप ४ जना सहित २६ जनाको ज्यान गएको छ । त्यसैगरी नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ गते देखि यता गरिएको २ हजार ५सय ८४ जनाको पिसिआर परीक्षणको क्रममा १ हजार ४ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

- रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्