विराटनगर महानगरपालिकासहित आसपासका तीन स्थानीय तहमा एकसाता निषेधाज्ञा

विराटनगर महानगरपालिकासहित आसपासका तीन स्थानीय तहमा एकसाता निषेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमणको दोस्रो भेरियन्टको सघन विस्तार क्षेत्र विराटनगर महानगरपालिकासहित केहि स्थानमा शनिबार राती १२ बजेदेखि लागु हुने गरि एकसातासम्म निषेधाज्ञा जारी गरेको छ ।

कोरोना संक्रमणको सघन विस्तार क्षेत्रको रुपमा रहेको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा आदेश जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको संयोजकत्वमा आज बसेको बैठकले विराटनगर महानगरपालिका, जहदा र बुढिगंगा गाउँपालिकाको सबै क्षेत्र तथा कटहरी गाउँपालिकाका चार वटा वडामा निषेधाज्ञा आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।
महानगरपालिकामा तिव्रतर रुपमा बढिरहेको कोरोनालाई लक्षित गर्दै महानगरसँग सीमा जोडिएका अन्य स्थानीय तहमा निषेधाज्ञा आदेश जारी गरिएको हो, प्रवक्ता पोखरेलले भन्नुभयो–आवश्यकता अनुसार क्षेत्र विस्तार गर्दै र म्याद थप्दै लान समेत सकिन्छ ।
प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ बमोजिम र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा आदेश जारी गर्नु भएको छ । आदेश जारी भएको क्षेत्रमा औषधी, खाद्यवस्तु तथा अत्यावश्यक सेवा वस्तु खरिद गर्न बाहेक कसैलाई पनि बाहिर निस्कन पाइने छैन । दुध, खाद्यवस्तु, खाना पकाउने ग्यास तथा तरकारी आपूर्ति प्रणाली बिहान १० बजेसम्म गरिसक्नुपर्नेछ ।
ग्द्र बजार, सब्जीमण्डी, होटल, रेष्टु–राँ, सैलुन, ई–रिक्सा समेत सञ्चालनमा रोक लगाइएको छ । निर्माण सामाग्री बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाईने भएको छ ।
अत्यावश्यक सेवामा सञ्चालन हुने बिद्युत, पानी, दुध, डेरी, सञ्चार, फलफुल, एम्बुलेन्स, बिरामी बोकेको गाडी, शव वहान र सरकारी नम्बर प्लेटका गाडी बाहेक अन्य सवारी पूर्ण रुपमा सञ्चालनमा रोक लगाइएको छ । सरकारी कार्यालयहरु आलोपालो प्रणालीमा सञ्चालन गरिनुपर्नेछ ।
जिल्लाभर राती ८ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रुपमा आवातजावतमा रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्