कोरोना आक्रान्त : सेकेण्ड भेरियन्टबाट मात्रै ४७ जनाको मृत्यु

कोरोना आक्रान्त : सेकेण्ड भेरियन्टबाट मात्रै ४७ जनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणको दोस्रो लहर चलेयता मंगलबार एकैदिन प्रदेश १ मा सातजनाको मृत्यु भएको छ । संक्रमण पुष्टिपछि जटिल स्वास्थ्य अवस्थाका कारण उपचारका लागि अस्पताल भर्ना भएका छ जना र होम आईलोसेनमा रहेकै अवस्थामा एकजनाको पछिल्लो १२ घण्टाकै अवधीमा मृत्यु भएको हो । नोबेलमा चार, वीपीमा एक, बिएण्डसीमा एकजना र मोरङको बेलबारीमा होम आईसोलेशनमा एकजनाको मृत्यु भएको छ ।

कोरोनाको सेकेण्ड भेरियन्टको सुरु अवधी चैतलाई मान्दा समाचार तयार गर्दाको समयसम्म ४७ जनाको मृत्यु भईसकेको छ । प्रादेशिक स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र प्रमुख डा.संगिता राईका अनुसार जटिल प्रकारको लक्षणसहितका संक्रमितको संख्या दैनिक बढ्दै जाँदा मृत्युदर समेत १ प्रतिशत भन्दा बढी भईसकेको छ । बैशाख १ गते परीक्षणको ८ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो, डा.राईले भन्नुभयो–अहिले परीक्षणको ४० प्रतिशतमा संक्रमण पुष्टि भईरहेको छ र एकप्रतिशत भन्दा बढीको मृत्यु । पहिलो लहरमा मृत्युदर ०.५ प्रतिशत भन्दा न्यून रहेको थियो । भारतमा दोस्रो लहर बढेसँगै चैतदेखि प्रदेश १ मा समेत त्यसको प्रभाव सुस्तरी देखा पर्न थालेको हो । बैशाखपछिको परीक्षण दर, संक्रमित दर र मृत्यु दर भने ह्वात्तै बढ्दै गएको छ । पहिलो लहरमा ‘माइल्ड’ केशहरु अस्पताल भर्ना भईरहेका थिए, दोस्रो लहरमा ‘मोडरेष्ट’ केशहरु बढी छन्, डाक्टर राईले भन्नुभयो–मिलेर नलड्ने हो भने धेरै क्षति हुनसक्छ ।

केन्द्रको जनस्वास्थ्य अधिकृत ओमकुमारी राजबंशीका अनुसार चैत महिना यता १९ हजार १९५ जनाको परीक्षण गरिएकामध्ये ३ हजार ६८३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये २९६ जना मात्रै रिकभर भएका छन् । प्रदेश १ मा पहिलो र दोस्रो लहर गरि जम्मा २ लाख ४५ हजार ४१२ जनाको परीक्षण गरिएकोमा ३३ हजार ९४१ संक्रमित फेला परेका छन् । जसमध्ये हिजोसम्म ५०७ जनाको मृत्यु भईसकेको छ ।
पहिलो लहर फागुन अन्तिमसम्म फाट्टफुट्ट देखिएको थियो ।

प्रादेशिक स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रकी प्रमुख डाक्टर राईले संक्रमितसँगै मृत्युदर ह्वात्तै बढेकोले सावधानी, सचेतनासँगै उपचारात्मक प्रणालीमा सुधार गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले सरकारी मापदण्डमा उपचार गर्न चाहने अस्पतालहरुमा समेत संक्रमितको उपचार गर्ने तयारी भईरहेको जानकारी दिनुभयो । डाक्टर राईले आईसोलेशन व्यवस्थापनमा बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो । निजीस्तरको न्यूरो अस्पतालसहित सबै जिल्ला अस्पतालमा २० शै्याको आईसोलेशन बनाइने भएको छ ।

पहिलाको जस्तो छैन रुघा, खोकी लाग्यो भनेर बस्ने अवस्था छैन, आफूलाई आफैंले केयर गर्ने दिन आईसकेको उहाँको भनाई छ । उहाँले सचेतना र सावधानीले मात्रै अहिलेको अवस्थालाई रोक्न सकिने बताउँदै प्रत्येक एकजनाले १० जनासम्मलाई जटिल अवस्थामा पुग्ने गरि संक्रमण सार्ने गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्