‘स्वयंसेवाका माध्यमबाट जीवनवृत्ति’ विषयक भर्चुअल अन्तरसञ्जाल सम्मेलन सम्पन्न

‘स्वयंसेवाका माध्यमबाट जीवनवृत्ति’ विषयक  भर्चुअल अन्तरसञ्जाल सम्मेलन सम्पन्न

काठमांडू

विश्वजगत कोरोना महामारीबाट आक्रान्त भइरहेका बेला एड्भान्स्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टले संयुक्त राष्ट्रसङ्घीय स्वयंसेवी नियोगसँगको सहकार्यमा भर्चुअल अन्तरसञ्जाल सम्मेलन आयोजना गरी अनुभव आदानप्रदान गराएको छ ।

‘स्वयंसेवाका माध्यमबाट जीवनवृत्ति’ विषयक सो सम्मेलनमा संयुक्त राष्ट्रसङ्घीय स्वयंसेवी नियोग, थाइल्यान्डका क्षेत्रीय प्रबन्धक विज्ञ डिमित्री फ्राइस्चिनले लामो जीवनयात्रा निर्धारण गर्न स्वयंसेवाले कसरी सहयोग गर्छ भन्ने विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । पिस क्रप्स नेपालका कार्यवाहक राष्ट्रिय निर्देशक म्याट टुल्लीले स्वयंसेवाको महत्वबारे आफूहरुले अमेरिकी नागरिकलाई समेत सिकाइको अवसर हुने गरी नेपाललाई कसरी योगदान गरिरहेको छ भन्ने विषयमा बताउनुभएको थियो ।

एड्भान्स्ड कलेजका अध्यक्ष रमेशकुमार सिलवालले स्वयंसेवाका क्षेत्रमा युवावर्गलाई प्रोत्साहन गर्दै फ्राइस्चिन र टुल्लीले व्यक्त गरेको चासो, समर्पण तथा प्रदान गरेको समयप्रति कृतज्ञता व्यक्त गर्दै यस किसिमका अवसरले उद्यमशीलता तथा सीपमूलक शिक्षालाई प्रवद्र्धन गर्ने पनि बताउनुभयो । सो कलेजका कार्यकारी निर्देशक कपिलेदेव रेग्मीले सम्मेलनले युवावर्गलाई स्वयंसेवाप्रति प्रोत्साहन गर्नाका साथै यस किसिमका सार्थक क्रियाकलापमार्फत उनीहरूको जीवनवृत्तिलाई प्रवद्र्धन गर्ने जनाउनुभयो ।

एड्भान्स्ड कलेजले प्रयोगशालामा सञ्चालन हुने अनुसन्धानमा आधारित नवीन प्रकृतिका प्रत्यक्ष परियोजनाका माध्यमबाट बहुआयामिक विद्यार्थीकेन्द्रित क्रियाकलापलाई विस्तृतीकरण गर्दै आएको छ । त्यस किसिमका समुदायमा आधारित प्रयोगशाला देशका विभिन्न भागमा सञ्चालन गर्ने संस्थाको योजना रहेको छ । सम्मेलनको सञ्चालन एड्भान्सड कलेजको रिसर्च एन्ड इनोभेसन एकाइकी सदस्य तथा नेपालकी प्रसिद्ध युवा वैज्ञानिक डा. प्रतिभा पाण्डेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्