विराटनगर । नेपाल मेडिकल काउन्सिलले बैशाख २९ गते एउटा अपिल जारी गर्दै भनेको छ–कन्भल्सेन्ट प्लाज्मा थेरापी कोभिड–१९ संक्रमित भई अस्पताल भर्ना भएका बिरामीलाई सिफारिस गर्नुपदैन । किन की विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको आधिकारिक निकायले समेत प्लाज्मा थेरापी कोभिड–१९ संक्रमितका लागि सिफारिस गरेको छैन ।
तर, संक्रमित भई उपचारका लागि अस्पताल भर्ना गरिएको बिरामीका आफन्तले प्लाज्मा थेरापीका लागि रगत संकलन र रेम्डिसिभर इन्जेक्सनको खोजी सर्वत्र गरिरहेका छन् । सामाजिक सञ्जालमा चिकित्सककै सल्लाह बमोजिम प्लाज्माको खोजी गर्नेहरुको संख्या बढ्दै जाँदा नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुका लागि सार्वजानिक सूचना नै जारी गर्नुपर्ने अवस्था आएको हो ।
उपचारमा संलग्न चिकित्सकले यसको आधिकारिता पुष्टि नगर्दै किन प्लाज्मा र रेम्डिसिभर इन्जेक्सनको खोजीमा बिरामीका आफन्तलाई दवाव दिईरहेका छन् ? र, बिरामीको हौसलालाई किन यति धेरै गिराईरहेका छन् ? आधिकारिक निकाय नै अलमलमा परिरहेको बेला सर्वसाधारण नागरिकमा कोरोना संक्रमितलाई बचाउने अन्तिम विकल्प प्लाज्मा थेरापी र रेम्डिसिभर इन्जेक्सन हो, भन्ने बुझाई जर्वरजस्त परिरहेको छ । उपचारमा संलग्न चिकित्सक समेत प्लाज्मा थेरापी वा रेम्डिसिभर इन्जेक्सनले संक्रमितको जीवन जोगाउन खासै भूमिका निर्वाह गरिरहेको भने ठान्दैनन् ।
कोशी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन एवं कोरोना संक्रमितको उपचारमा निरन्तर खट्दै आउनु भएका डा.दिपक सिग्देल यो भ्रम चिर्न नसक्नु सबैभन्दा ठूलो कमजोरी भईरहेको बताउनुहुन्छ । नेपाल मेडिकल काउन्सिलले सूचना जारी गर्नु अगाडी नै चिकित्सकहरुले यसलाई इन्कार गरिसकेको भएपनि जर्बरजस्त यसको प्रयोग बारेको धारणा जनमानसमा परिरहेको डाक्टर सिग्देलको भनाई छ ।
डाक्टर सिग्देलले भन्नुभयो–हाम्रो यूनिटले यसलाई प्रेसक्राइभ गरिरहेको छैन तर कतिपय स्वास्थ्य संस्था जर्बरजस्त लागिरहेका छन् । तर, उनीहरुले क्रिटिकल बिरामीको जीवन प्लाज्मा थेरापी वा रेम्डिसिभर इन्जेक्सनको प्रयोगले फर्काउन सकिरहेका छैनन्, त्यहिपनि उहि शैलीमा संक्रमितका आफन्तलाई आतंकित बनाईरहेका छन् ।
संक्रमितको मृत्युमा प्लाज्मा थेरापी वा रेम्डिसिभर इन्जेक्सनले कुनै फरक नपारिरहेको डाक्टर सिग्देलको भनाई छ । जब यसको सकारात्मक परिणाम आईरहेको छैन भने कालोबजारी धन्दा चलाउने बाहेक अर्को मनसाय देखिरहेको छैन, डाक्टर सिग्देलले भन्नुभयो–एउटा रेम्डिसिभरको मूल्य २४ हजारसम्म तिरेर आफन्तले बिरामीका लागि जोहो गरिरहेका छन्, त्यहि पनि त्यो नक्कली वा सक्कली भन्ने यकिन पनि छैन ।
डाक्टर सिग्देलले विश्वले मान्यता नदिएको विषयलाई जर्बरजस्त स्थापित गर्ने शैलीमा विभिन्न संघसंस्थाहरुले समेत प्लाज्मा खोज्ने टिम बनाईरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । बिरामीको एन्टीबडी कस्तो छ भनेर हामीसँग मापन गर्ने कुनै विधि छैन, प्लाज्मा थेरापीले फर्काउँछ भन्ने कुरा पनि यकिन छैन ।
उहाँले सरकारको आधिकारिक निकाय समेत चिन्तित बनिसकेको अवस्थामा यस बारेको भ्रम चिर्न साझा अभियान आवश्यक भईसकेको बताउनुहुन्छ । कोरोना संक्रमणले भयावह बनाईरहेको समाजलाई प्लाज्मा थेरापी र रेम्डिसिभर इन्जेक्सन खोजीको गन्जागोलले गाँजेको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ ।