गरिवले अकालमा मर्नुपर्ने ?

गरिवले अकालमा मर्नुपर्ने ?

-सुजन दाहाल

मृत्यु अन्तिम सत्य हो । एक दिन त सवैले मर्नु नै छ । तर अकालको मृत्यु दुर्भाग्य हो । विज्ञान र प्रविधिको यो युगमा पनि अस्पतालमा अक्सिजन र बेड नपाएर सयौ नेपालीले अनाहकमा मृत्युबरण गर्नु पर्ने जुन परिस्थिती बनेको छ, यो एक्काइसौ शताब्दीको लागि कालो धब्बा हो । समयसंगै राज्य रुपान्त्तर हुन नसक्दा, राज्यसंचालकहरु इमान्दार र कर्तब्यनिष्ठ भई देशविकासमा ध्यान नदिदा विश्वकै एक प्राचिन देश नेपाल र यहाँका नागरिक आज छटपटिएर, तड्पिएर क्वाँ क्वाँ गर्दै मर्न बाध्य छन् ।

‘नेपालीको गरिवीले दुुई पत्र छाला गएको छ ।’ देश गरिव हुँदा मानिस कसरी त्यसको सिकार हुनु परिरहेको छ भन्ने कुरा अहिलेको कोरोनाले प्रमाणित गरिदिएको छ । विश्वका धनी र सभ्रान्त्त देशहरुले कोरोनाबाट संक्रमित आफ्ना नागरिकलाई प्रदान गरेको स्वास्थ्य उपचार लोभलाग्दो छ । तर गरिव देशहरुले आज जे भोगिरहेका छन् र नागरिकलाई जस्तो स्वास्थ्य सुविधा उपलब्ध गराएका छन् त्यो नै अहिलेको बहसको मुख्य बिषय र मुद्धा हो ।

धनी देशमा जन्मिने कि गरिव देशमा जन्मने भन्ने स्वयम मानिसको हातमा हुदैन । त्यो त प्राकृतिक कुरा हो । तर गरिव भएर सामान्य औषधी उपचार मात्र पनि नपाएर मर्नु पर्ने विडम्वनापूर्ण अवस्थाले धेरै नेपालीको मन रोएको छ । गरिव देशमा भएका विकृती विसंगति र व्यभिचाकको शिकार त्यहाँका नागरिकहरु भएका हुन्छन् ।

नेपालीले आज जुन ढंगको पिढा र कष्ट भोग्नु परेको छ त्यो सवै देश गरिव भएर नै हो । देश सम्पन्न हुन्थ्यो भने अक्सिजन नपाएर मर्नु पर्ने हुदैनथ्यो । हस्पिटलमा बेड नपाएर छटपटाउनु पर्ने हुदैनथ्यो । अनाहकमा काल नै नआईकन जीवन समाप्त पार्नु पर्ने हुदैनथ्यो । तमाम आमाका काख रित्तो हुदैनथ्यो । कयौ केटाकेटी टुहुरा हुने थिएनन । कयौको सिउदो पुछिने थिएन । कयौ घरबार विहिन हुनु पर्ने थिएन ।

नेपाल देश कहिले जन्मिएको कसैलाई थाहा छैन । तर अहिले सम्म देश गरिब नै भयो । शासक इमान्दार, उत्तरदायी, नैतिकवान र सुविचारी बन्न नसक्दा देश सधै गरिव नै रह्यो । सवै शासकहरुले देशलाई लुटने र भुटने मात्र काम गरे । देश र जनताप्रति इमान्दार भएर देश बनाउनु पर्छ भनेर कोही कसैले सोचेनन् । परिणामतः अहिलेको कहालीलाग्दो अवस्था नेपाली नागरिकले भोग्नु परिरहेको छ ।

नेपालभन्दा कयौ गुणा कान्छा देशहरु आज उच्चतम विकासको अवस्थामा छन । त्यहाँका नागरिकले कम्तिमा मर्नु पर्दा पनि यथेष्ट स्वास्थ्य उपचार पाएर सन्तोषपूर्वक मरेका छन् । तर नेपालमा गरिव भएकैले मरीरहेका छन् । देश धनी बन्नु पर्छ सवै भन्छन् तर सवै देशलाई चुस्ने मात्र काम गर्छन् । आज यत्रो माहामारीमा पनि यहाँका शासकबर्गले रियलाइज गरेका छैनन् । इगो र घमण्डबाट बाहिर निस्कन सकेका छैनन् । आफूलाई चिरन्जिबी नै ठानेर अरुको दुःखमा मुकदर्शक बनेर बसेका छन् ।

शासक बहुलाउदा नागरिक मरे । शासक राज्य सक्तामा लिप्त हुदा कयौले ज्यान गुमाए । सत्ताका लागि मात्र छलफल गर्छन् । यो नै गरिव देशको विशेषता रहेछ । तमाम राजनैतिक नेतृत्वलाई एक अर्कालाई गाली गर्नमा नै फुर्सद छैन । कुनै राजनैतिक दलहरु नगरिकका लागि जिम्मेवार भएर काम गरेनन् । सवैले देखावटी अभिनय मात्र गरे ।
गरिव देशमा रोग, भोग र शोकबाट बढी मान्छे मरिरहेका छन् । सरकारले अभिभावकिय भूमिका निर्वाह नगर्दा नागरिक उपेक्षित भए । ठुला ठालु भनिएकाहरु संक्रमित भए बेड र अक्सिजन अभाव हुदैन तर एउटा गाँउको गरिव संक्रमित भए उपचार त परै जाओस सामान्य बेड सम्म नपाई मर्नु पर्ने स्थिती बन्यो । गरिव देशमा राज्य लाचार भैदिदा नागरिकले आफनो अमुल्य जीवन व्यर्थमा गुमाउन परिरहेको छ ।
नागरिकको तहबाट पनि कोरोनाको भाइरस फैलिएकै हो । देशका शासक र अगुवा जस्ता छन् नागरिक पनि त्यस्तै हुनु पर्ने भने झै गरिव देशका नागरिकलाई सामान्य अवस्थामा त जिवन चलाउन हम्मे हम्मे छ यो कोरोनाले देश नै ठप्प भएको बखत त रोगले भन्दा भोकले मरिन्छ कि भन्ने पिर छ । मान्छे जीउ छाडेर भिडभाडमा जाने, सामाजिक दुरी कायम नगर्ने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता गलत आचरण र व्यवहारको सिकार असल नागरिक पनि भएको छ । नागरिकको यस प्रकारको गलत हर्कतले गर्दा कोरोलाई मलजल ग–यो ।

हामी हाम्रा छिमेकी देशलाई हेरेर सिक्न सक्छौ । उत्तरी छिमेकी चीन धनी देश त होइन तर सम्पन्नता तर्फ भने लम्किरहेको देश हो । जसले आज संसारलाई कोरोना नियन्त्रणको उदाहरण प्रस्तुत गरेको छ । तर दक्षिणी भारतमा नागरिक छाडा र अनुशासनहीन हँुदा र सत्ताधारी सत्तामा मात्र मस्त हुँदा कोरोनाले जित्यो । नेपाल भारत जस्ता गरिव देशहरुले संसारमा नयाँ रेकर्ड कायम गरे । हरेक दिन लाखौ संक्रमित हुने र हजारौ मरिरहेको स्थिती छ ।
कोरोनाले गर्दा नेपाल मात्र नभएर समग्र दक्षिण एसिया आक्रान्त्त भएको छ । दक्षिण एसियाका सवै देश आर्थिक रुपले कमजोर छन् । शासकिय स्वरुप, भ्रष्ट्राचार, व्यवविचार, राज्यसत्ताका ठेकेदारहरुको अर्कमण्यता जस्ता कुराहरुले गर्दा सोझा, सिधा, सामान्य नागरिकले आफ्नो जीवनसंग बाजी मारिरहनु परेको छ ।

संसारका दुःख मानिस स्वयमले सृजना गर्ने हो । संसारलाई यत्रो जनसंख्या आवश्यक नै छैन । जति धेरै जनसंख्या त्यति नै दुःख थपिन्छ । बढदो जनसंख्याले भविष्यमा पनि कोरोना जस्ता अनेक रोग व्याधिले आक्रमण गर्ने निश्चित प्रायः छ । गरिव देशमा भएको गुणस्तरहिन जनसख्याका कारण पनि सांसारिक कष्ट र प्रकोप आज समग्र मानव जातीले सामना गर्नु परिरहेको छ ।

देश धनी भए नागरिक सुखी हुन्छ । आफु भन्दा पहिला देश विकास हुनु पर्ने हो भन्ने कुरा अहिले सवैले बुझे पनि होलान् । गफमा होइन काममा विश्वास गरेर देश विकास गर्नु पर्छ । संसारका आजका सम्पन्न देशहरु काम गरेर नै धनी भएका हुन् । गफ गरेर होइन । काम नै पुजा हो भन्ने भावनाले देश बनाउनु पर्छ । कोरोना जस्ता रोग त फेरी पनि आउने निश्चित छ । तर देशलाई सम्पन्न बनायो भने कोरोना जस्ता व्याधीसंग लडन र जुधन सहज हुन्छ भन्ने कुरा सवैले बुझन आवश्यक भै सकेको छ ।

आजको आजै देश विकास त हुदैन । यो संस्करणको कोरोरासंग त जसोतसो लड्नु नै छ । मर्ने मर्छ र बाँच्ने बाँचिहाल्छ । को कतिखेर मर्छ कसैलाई नि थाहा नहुने स्थिती छ । यसैबाट शिक्षा लिएर आत्मा आलोचना गर्दै देशको समग्र विकासमा नलाग्ने हो भने भविश्यमा पनि नेपालीले यो भन्दा बढी संकट व्यहोर्नु पर्ने निश्चित छ । आफ्नो स्वार्थलाई केन्द्रीयतामा राखेर होइन, देशको स्वार्थमा काम गर्न जरुरी छ । व्यक्ति आफुसंग पैशा छ भनेर धमण्ड गर्ने होइन राज्य धनी हुनु पर्छ अनि मात्र सवै नेपालीले सुख पाउछन् भन्ने भावनाका साथ सवै मिलेर अहिलेलाई कोरोनासंग लड्दै आफ्नो सोच र व्यवहारलाई परिवर्तन गर्दै देश विकासमा सचेतनाका साथ अगाडी बढने हो भने सवैको कल्याण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्