विराटनगर । कोरोना भाइरस सङ्क्रमणका कारण सप्तरीको सप्तकोसी नगरपालिकाकी उप–प्रमुख ४० वर्षीया आशा चौधरीको निधन भएको छ । उपचारका क्रममा मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा मङ्गलबार बिहान उनको मृत्यु भएको हो ।
विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार चौधरी सात महिनाकी गर्भवती हुनुहुन्थ्यो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो । ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको थियो ।
कोरोना पुष्टि भएपछि भने थप उपचारका लागि विराटमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । सात महिनाकी गर्भवती रहेकी चौधरीको पेटबाट तीन दिनअघि मात्रै बच्चा बाहिर निकालिएको थियो ।
पेटमा भएको बच्चाका कारण थप असहज भएपछि निकालेर बचाउने प्रयास गरिएको भए पनि सम्भव हुन नसकेको देवले दावी गर्नुभयो । आईसीयूमा उपचाररत चौधरीको अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखिएको थियो । उपचारकै क्रममा भेन्टिलेटरमा उनको निधन भएको हो ।