विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जनचेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थासँगको समन्वय र सहकार्यमा मनाइँदै गरेको अभियानलाई प्रभावकारी बनाउन महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै भिडियो पठाउन आह्वान गरेको हो।
महानगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाले जारी गरेको सूचनाअनुसार लैङ्गिक हिंसा (शारीरिक, मानसिक, भावनात्मक तथा यौन) न्यूनीकरणमा सहयोग पुग्ने गरी ६० सेकेन्डको सन्देशमूलक टिकटक भिडियो निर्माण गर्नुपर्नेछ। इच्छुक सहभागीले उक्त भिडियो सामाजिक सञ्जालमा अपलोड गरी त्यसको लिङ्क आगामी मंसिर १७ गतेभित्र महानगरपालिकाको इमेल ठेगाना [email protected] वा ह्वाट्सएप नम्बर ९८४२०२८४४८ मा पठाउनुपर्नेछ।
प्रतियोगितामा छनोट समितिले तोकेको मापदण्डबमोजिम उत्कृष्ट ठहरिएका भिडियोहरूमध्ये प्रथम हुनेलाई नगद २५ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले प्रतियोगिताका लागि निश्चित सर्तहरूसमेत तोकेको छ। जसअनुसार भिडियो अपलोड गर्दा अनिवार्य रूपमा #विराटनगरमहानगरपालिका र #लैङ्गिक-हिंसा-अन्त्यकालागि-साझा अभियान ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। त्यस्तै, अमर्यादित तथा नकारात्मक सन्देश दिने, कानुनविपरीत हुने, कपीराइट वा सम्पादन (Edit) गरिएको तथा कृत्रिम बौद्धिकता (AI) बाट तयार पारिएका भिडियोलाई मान्यता नदिइने स्पष्ट पारिएको छ।
विराटनगर महानगरपालिकाले मंसिर ९ देखि २४ गतेसम्म (नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख) ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ १६ दिने अभियान सञ्चालन गरिरहेको छ।