निषेधाज्ञामा पनि विकासे कामको निरन्तरता

निषेधाज्ञामा पनि विकासे कामको निरन्तरता

कैलाली

नयाँ भेरियन्टसहितको दोस्रो चरणको महामारी समुदायस्तरमा फैलिएपछि कैलालीमा निषेधाज्ञा जारी छ तर निषेधाज्ञाकै बीचमा कैलालीको घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको पालिकाको निकै महत्वका साथ हेरिएको रिङरोडको कालोपत्र गर्ने कार्य भने जारी छ ।

करीब १७ किलोमिटर लम्बाइ रहेको रिङरोडको पहिलो चरण अन्तर्गत ३.५६ किलोमिटर सडक कालोपत्र गर्ने काम भुखाली चोकबाट शुरु भएको हो । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाका बाबजुद पहिलो चरणमा ३.५६ मिटरको सडक कालोपत्र गर्ने कार्य शुरु भएको घोडाघोडी नगरपालिका–१ का अध्यक्ष मनराज शाहीले जानकारी दिनुभयो ।

पछिल्लो समय तीव्र रूपमा फैलिँदो कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञाका कारण विकास निर्माणका काममा कामदारको अभाव खड्किरहे पनि निर्माण कम्पनीलाई ताकेता गरेर वडाको महत्वपूर्ण योजनाको कामलाई निरन्तरता दिइएको अध्यक्ष शाहीले बताउनुभयो ।

नगरपालिकाले पहिलो चरणको ३.५६ किलोमिटर सडक निर्माणका लागि रेखा जेबी निर्माण सेवा लम्कीसँग रु एक करोड ५८ लाख ६० हजार ९५८ मा ठेक्का सम्झौता गरी काम शुरु भएको एक वर्षभित्रमा तीन किलोमिटर ५६ दशमलव मिटरको सडक कालोपत्र भइसक्ने सम्झौताअनुसारै काम अघि बढिरहेको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण कैलालीमा एक महिनामा मृत्यु हुनेको सङ्ख्या २०० बढी छ तर पनि महामारीका बीचमा किन कामलाई निरन्तरता दिइरहनुभएको भनेर आफूहरूलाई धेरै ठाउँबाट प्रश्न आउने गरेको अध्यक्ष शाहीले बताउनुभयो । महामारीबाट जनतालाई कसरी जोगाउने भन्नेमा त हामी लागिरहेकै छौँ तर विकासे योजनालाई पनि समयमै सक्नु आफूहरूको कर्तव्य भएको हुनाले यस्तो महामारीमा पनि कामलाई निरन्तरता दिइएको अध्यक्ष शाहीको भनाइ छ ।

हामी अहिले कोरोना रोकथाममा पनि सक्रियतापूर्वक लागिरहेका छौँ । भारतबाट आउनुभएका जनताको तथ्याङ्क राखेर उहाँहरूको स्वास्थ्य अवस्था हेरी आवश्यक परेकाहरूको परीक्षण गराई होम आइसोलेशन र होम क्वारेन्टिन रहन सुझाव दिने गरी जनप्रतिनिधि टोलटोलमा खटिएका छाँै तर यता जनता बचाउने र विकास गर्ने दुवै कामलाई सँगसँगै अघि बढाउने गरी काम गर्नुपर्ने भएको हुँदा विकासे काम रोक्न नसकिएको अध्यक्ष शाहीले बताउनुभयो ।

स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा उक्त रिङरोड निर्माण भइरहेको हो । सुखडको भुखाली चौकबाट पीपलडाँडा, पूर्वी पेट्रोल पम्प, बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखाली चौकसम्म करीब १७ किलोमिटरको रिङरोडको निर्माण अवधि ३ वर्षको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्