-मिलन लम्साल (बिराटनगर)
घ्यार्र शटर उठाएर हेर्छु कसैले बोलाएकि
मनमा बेचैनी छ ग्राहक आए हुन्थ्यो भनी
कोही देख्दिन फेरि घ्यार्र शटर बन्द गर्छु
किनकि म शटरवाला पसले नै परे ।।
त्यहीँ पसल भित्रको डेरामा छु
निषेधाज्ञा छ बाहिर जानु भएन ,
भित्र श्रीमती र सानो छोरा
खानेकुराको आसमा छ्न् ।
महामारीमा मैले चाहिँ कहिँ आशा गर्नु हुन्न
किनकि म शटरवाला पसले नै परे ।।
शटरमा फेरि ट्याक ट्याक आवाज आयो
फेरि शटर घ्यार्र गरे
यसो हेरे बैंकका कर्मचारी
ऋण र ब्याजको कुरा सम्झाउँदै हिडेँ ।
उता मोबाइलको घन्टी बज्यो
हतार हतार घ्यार्र गरी भित्र पसे ,
कर तिर्ने काम डिजिटल माध्यमबाट
तिर्नु भन्ने सरकारको उर्दी रहेछ :
गले म थ्याच्च बसे ,उठ्नै पर्यो
किनकि म शटरवाला पसले नै परे ।।
शहरमा शटरमा ब्यापार गर्ने
आफ्नो कुरा कसलाई भन्नू ,
सत्तामा लुटुपुटु ब्यापारीहरु र
हामी शटरवाला पसलेहरु ,
एकै हुन् भनी समाज उफ्रिन्छ ।
म बेग्लै हुँ भनी भन्नै सक्दिन
किनकि म शटरवाला पसले नै परे ।।
एक दिन बाहिर ग्राहक छ्न् कि
भनी चियाउँदै थिए
गोजिको मोबाइल घन्कियो ,
यसो हेरे घरवाला बाबै रहेछ्न्
सुने फोनमा बाबू बिजोग भो
दूध किन्ने पैसा पनि छैन!
बाबैको एक मात्र छोरा डिभी परि
अमेरिका हानिएको सम्पर्कमा छैन ।
भलादमी बाबै पोहोरको बन्दाबन्दीमा
घर भाडामा छुट दिएका ,
यसपाली दुधको निम्ति फोन गरे
कसरी भन्नु तिनलाई ,
हजुर म पनि भोकै छु भनी
किनकि म शटरवाला पसले नै परे ।।
पोहोर सालको बन्दाबन्दी
राहातको लाइनमा बस्दा
एक जनाले मेरो घाँटीमा सुनको सिक्री देखेँ
अनि अर्को ले भन्यो यो शटरे पसले हो ।
हुदाँहुदैँ म अपमानित भई खेदाइए
म पनि भोको छु भन्ने बुझाउन सकिन
किनकि म शटरवाला पसले नै परे ।।
पोहोर साल त्यो घटना
सामाजिक सन्जालमा भाइरल भो
मेरो उछितो काटियो ,तथानाम लेखियो ,
म त्यो पिडा पछि टोलाउन ,
बरबराउने पनि भएँ
तर कसैले पत्याउदैन
किनकि म शटरवाला पसले नै परे ।।
के थाहा तिनीहरुलाई
त्यो भाइरल भिडियोले गर्दा्
घर भित्रै आँसुलाई बटुकोमा राखी
कति दिन सम्म पिएका छौँ ,
के थाहा तिनीहरुलाई
त्यो सुनको सिक्री
बिवाहमा मेरी प्रियाले
दिएको स्नेहको माला हो भनेर ।
हाम्रो बाचाको त्यो माला
खानाका लागि बेच्नु पर्यो भनी
कसले पत्याउला
किनकि म शटरवाला पसले नै परे ।।
फेरि शटरमा आवाज आयो
घ्यार्र गरे एक जना नेता रहेछ्न्
उनलाई आफ्नो बृतान्त सुनाए ,
उनले पसलेको संघमा भन्नू भने
छैन हजुर चिनजान,
त्यति के भनेको
दलको लागी अफिस भाडामा लाउने नि ।
उल्टै सोध्छ्न्
अनि
सत्ता नजिकका पसलेसङ्ग दजाँइमा परे
म के भनु कता सुनाउँ,
आफ्नो बिलौना, पीडा चिन्ता
किनकि म शटरवाला पसले नै परे ।।
एक दिन शटर बाहिर आवाज आयो
फलानो शटरवाला महामारीले बितेछ्न्
कहाँ छ्न् परिवार भनि सोधे ।
पैसा तिर्न नसकेकोले
उनका परिवार अस्पतालको
मुल ढोकामा टोलाइरहेका छ्न ,
पैसा छैन भने होलान, कसले पत्याउँछ
किनकि उनि पनि शटरवाला पसले नै थिए ।।
म अवाक थिए केही बोल्न्न सकिन
ती शटर वाला भद्र मित्र बितेछ्न
साहुको ऋण,,बैंक , परिवार सम्झे।
आफै शटर भित्र नै सुक्क सुक्क रोएँ ,
अनि सम्झे मैले कहाँ रुन पाउँछु
किनकि म शटर वाला पसले नै परे ।।
एक छिनमा फेरि शटरमा कसैले बोलायो
खुसी हुँदै शटर उचाली हेरे ,
कसैलाई देखिन , निराश भए
घ्यार्र गरी भित्र गए ।।
किशोरकुमार को हिन्दी गित
रेडियोमा बज्दै थियो ।
"कहाँ तक ये मनको अन्धेरे छलेङ्गे
"उदासी भरे दिन कभी तो ढलेङ्गे ""
फेरि
शटरमा ट्याक ट्याक आवाज आयो
हत्तपत्त ग्राहक आएकै हुन भनी घ्यार्र गरे
किनकि म शटरवाला पसले नै परे।।