विराटनगर
सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नमान्ने सनराइज बैंक कारबाहीमा परेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएको सनराइज बैंकका बिराटनगर शाखामा कार्यरत एक महिला कर्मचारीले कार्यालयमै आत्महत्या गरेकी थिइन्। छोरीको मृत्यु भएपछि उनको परिवारले दिएको मागदाबीका आधारमा सनराइज बैंक कारबाहीमा परेको हो ।
सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीका अनुसार करीब १० महीना अघि सनराइज बैंकमा कार्यरत सनाज खतिवडाको मृत्यु भएको थियो । उनले मासिक ४२ हजार तलब लिन्थिन् । तर, उनी कार्यरत बैंकले सामाजिक सुरक्षा कोषमा योगदान गर्न मानेकाे थिएन ।
तर, उनको मृत्युपछि परिवारले सनाजको नियुक्ति पत्र सहित क्षतिपूर्ति माग्दै सामाजिक सुरक्षा कोषमा उजुरी दर्ता गराएको थियो । सनाजका बुवा ध्रुवकुमार खतिवडा र आमा गीता घिमिरेले वैशाख २० मा आश्रित परिवार सुविधा योजना अनुसार क्षतिपूर्ति माग्दै निवेदन दर्ता गराएका थिए । त्यसको अध्ययन गरेर कोषले सो परिवारलाई ऐन अनुसार क्षतिपूर्ति भराउन भन्दै बैंकलाई पत्र काटेको छ ।
कोषले ७१ वर्षलाई औसत आयु मानेर मृतकका बुवा र आमाको आयुको हिसाब गरेर क्षतिपूर्ति रकम तय गरेको हो । बैंकले सो परिवारलाई ४३ लाख ३४ हजार रूपैयाँ उपलब्ध गराउनुपर्ने पन्थीले बताए । मृतकको मासिक तलबको ६० प्रतिशतले हुने एकमुष्ट रकमलाई आश्रित परिवारले मासिक पाउने पेन्सनको आधारमा यस्तो हिसाब निकालिएको हो ।
तीन महीनाभित्र सो रकम दिलाएर कोषलाई जानकारी गराउनु पर्नेछ । यदि निर्देशन नमानेमा बैंकको खाता रोक्का गर्दै बैंकको सम्पत्तिबाटै सो क्षतिपूर्ति भराउन सक्ने अधिकार कोषसँग छ ।