सरकार, तिमीले गरेको लकडाउनको म पूर्ण समर्थन गर्छु ! तर….
वोल्न नसक्ने ‘सार्बभौम जनता’ र सुन्न नसक्ने ‘गणतान्त्रिक सरकार’
अचम्मको यो एकादेशमा, जनता र सरकार नामको कित्ताकाटमा
जनता नामको फाँटमा परेर, सहनुसम्म सहनु परेपछि
जम्मा-जम्मी नियति नै यहि भनेर मन बुझाउनु परेपछि
सरकार, तिमीले गरेको लकडाउनको म पूर्ण समर्थन गर्छु !
तर..
आफ्नै हातले माझिरहेको शीशागिलास जस्तै
जुनसुकै वेला टुट्न सक्ने अनिश्चित वर्तमान बोकेर
अरुको लागि चियाको रंग घोल्दा घोल्दै आफ्नै जीवनको रंग
रंगहीन वनाउंदै गइरहेको एउटा चिया पसलेको फीका अनुहार देख्दा
मैले दिएको समर्थन फिर्ता लिन्छु
भन्न पाउँछु कि पाउँदिन सरकार ?
साँझ-बिहान, आयो ! तरकारी आयो !! को आवाज संगै
आधी पसिनाले शरिर, र बाँकी पसिनाले गल्ली भिजाउँदै हिंड्ने
अभिशप्त मजदुरका भोका सन्तानको,चाउरिन्दै गएको अनुहार
र मध्यान्हको घामले ओइलिएको साग जस्तै
ओइलाएर भोलि नबिक्ने तिनको भविष्य सम्झिंदा
मैले दिएको समर्थन फिर्ता लिन्छु
भन्न पाउँछु कि पाउँदिन सरकार ?
तिमी वसेको त्यो आलिशान बंगला, बगैचा र दरबार..सबै सबै
बनाइ दिएका होइनन तिमीले भित्ता भरि झुन्ड्याएका तस्बिरका
कुनै महामानव, कामरेड, युगपुरुष, क्रान्ति नायक र जननायकहरुले
बरु तिम्रा महलमा सिंगमरमर घोट्दा घोट्दै, आफ्नै छाप्रोमा खाँबो हाल्न नभ्याएका
ती राजमिस्त्रीहरुको कच्चा पराले छाप्रो, आज जलेको देख्दा, ढलेको देख्दा
तिम्रो चर्को साइरनको आवाजले दबाउने, तिनका चिसो चुल्हा रखाली भाँडाको आवाज सुन्दा
मैले दिएको समर्थन फिर्ता लिन्छु
भन्न पाउँछु कि पाउँदिन सरकार ?