रबिन विरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप, कसुर ठहर भए यस्तो छ कानुनी सजाय

रबिन विरुद्ध अनुसन्धानका लागि पाँच दिनको म्याद थप, कसुर ठहर भए यस्तो छ कानुनी सजाय

विराटनगर । एक जनाकोे मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरि भएको कार दुर्घटनामा चालक विराटनगर– ५ बरगाछीका २४ वर्षीय रोबिन भनिने रबिन सिंह कार्की विरूद्ध अनुसन्धान गर्न प्रहरीले पाँच दिनको म्याद अदालतबाट पाएको छ । ‘सवारी ज्यान मुद्दामा’ पाँच दिनको म्याद थप गरि उनी विरुद्ध अनुसन्धान सुरू गरिएको हो ।

जिल्ला अदालत मोरङसँग प्रहरीले सात दिनको म्याद मागेपनि पहिलो पटक पाँच दिनको अनुमति पाएको हो । पहिलो पटक म्याद थपको समयसीमा सकिनु अगाडी पुनः दोस्रो म्याद थप्न पनि प्रहरीले सक्छ । सवारी ज्यान मुद्दाका प्रतिवादीलाई २५ दिनसम्म न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ । तर, २५ दिनको अवधी भन्दा अगाडी पनि प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउन सक्दछ । प्रहरीको प्रतिवेदनका आधारमा सरकारी वलिकको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्दछ ।

गत बिहीबार राती ७ः३५ बजे प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिदाँ ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु र मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।
त्यस बखतका कारका चालक रबिन प्रदेश सांसद बिन्दिया कार्कीका छोरा हुन् । दुर्घटनापछि उनलाई पहुँचको प्रयोग गरेर जोगाउन खोजिएको भन्दै आलोचना बढ्दै जाँदा प्रहरीले चारदिनपछि हिजो आईतबार उनलाई नियन्त्रणमा लिइएको थियो । प्रहरीले पक्राउ गरेको भनेर सूचना सम्प्रेषण गरेपनि आफन्तले भने उनले आत्मासर्मपण गरेको दावी गरेका छन् ।
दुर्घटनापछि कारमा सवार अन्यसँग गरिएको सोधपुछका क्रममा चालक कार्कीले मदिरा सेवन गरेर ड्राइभिङ्ग गरेका कारण दुर्घटना भएको बयान उल्लेख गराएका छन् । प्रहरीले मदिरा सेवन गरिएको होटलका सञ्चालकलाई समेत नियन्त्रणमा लिइएको थियो ।

कसुर ठहर भए यस्तो हुन्छ सजाय
चालकसँग लाइसेन्स नभएको दावी गरिदैं आएको छ । दुर्घटनापछि उनको आफन्तले अर्कै चालक उभ्याउन गरेको प्रयासले समेत त्यसलाई केहि पुष्टि गर्ने आधार दिएको छ । यदि बिना लाईसेन्स सवारी चलाएर दुर्घटना भई कुनै व्यक्तिको मृत्यु भए सवारी चलाउने चालक र सवारी धनीमाथि ‘सवारी ज्यान मुद्दा’ दर्ता हुने कानुनी व्यवस्था छ ।
लाइसेन्स नहुने व्यक्तिको हकमा सवारी ज्याने मुद्दाको १६१ को दफा २ र दफा ४ आकर्षण हुन्छ । उक्त कसुर पुष्टि भएको खण्डमा सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार ३ देखि १० वर्षसम्मको कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्मको जरिवाना हुन्छ । सवारी चालक अनुमति पत्र नभएको हकमा पनि थप सजायको व्यवस्था छ ।
सवारी ज्यान मुद्दाको दफा ४ मा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाएर उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिमको सजायमा थप २ हजार रुपैयाँ समेत जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
यस्तै सोही मुद्दाको दफा ५ मा कुनै सवारीे धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई २ वर्षसम्म कैद हुने व्यवस्था पनि कानुनमा छ ।
तर, प्रदेशसभा सांसद बिन्दिया कार्कीले आफ्नो सवारी २५ दिन अगाडी नै विराटनगर बरगाछीका युवा समूहलाई दिएकी थिइन् । कोरोना संक्रमित भई मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि सक्रिय युवाहरुको समूहलाई दिएको हुनाले दफा ५ आकर्षित नहोला की भन्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्