विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक बर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले मंगलबार उक्त बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
कुल विनियोजनमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख (४३ दशमलव ६ प्रतिशत), पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख (४६ दशमलव ३ प्रतिशत) र स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि ३ अर्ब २२ करोड ४२ लाख (१० प्रतिशत) विनियोजन गरिएको हो । त्यसैगरी वित्तीय व्यवस्था तर्फ ३ करोड विनियोजन गरिएको छ ।
उल्लेखित खर्चका लागि स्रोत जुटाउन सरकारले आन्तरिक स्रोतबाट ४ अर्ब ९ करोड ७७ लाख र राजश्व बाँडफाँटबाट ९ अर्ब ८१ करोड ६६ लाख प्राप्त हुने अनुमान प्रस्तुत गरेको हो ।