सुनसरीमा स्याउ तस्करी प्रकरणको छानविन सुरु, उच्च सुरक्षा अधिकारी संलग्नताको आशंका

सुनसरीमा स्याउ तस्करी प्रकरणको छानविन सुरु, उच्च सुरक्षा अधिकारी संलग्नताको आशंका

विराटनगर । कोरोना संक्रमणको ‘चेनब्रेक’ का लागी निषेधाज्ञा जारी गरिएको समयमा सुनसरीको लाही नाका हुँदै स्याउ तस्करी प्रकरणमा छानविन सुरु गरिएको छ । नेपाल–भारत वारपारका लागि निषेध गरिएको सीमा नाकाबाट रातारात तीनवटा नेपाली ट्रकमा स्याउ भारत पुगेपछि सुरक्षा अधिकारीको संलग्न आशंका गर्दै छानविन सुरु गरिएको हो ।

छानविनका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी, प्रहरी निरीक्षक मोहन रायमाझीसहित छन् ।

चीनबाट आयात गरिएको स्याउ अवैध सीमा कटाएर भारतको वीरपुर पु¥याएपछि भारतीय प्रहरीको नियन्त्रणमा परेको थियो । पवन नाम गरेका व्यापारीको उक्त स्याउ बोकेर गएका तीनवटा नेपाली ट्रकसहित आठ जनालाई समेत भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
एकहजार ३५० कार्टुन स्याउ तस्करी प्रकरणमा सुनसरी जिल्लाका उच्च प्रहरी अधिकारीको समेत संलग्नता आशंका गरिएको छ । सीमा बन्द भएको बखत हुने तस्करीमा प्रहरीको मिलेमतो बाहेक संभव नै नहुने भएको भन्दै प्रहरी प्रधान कार्यालयको निर्देशनमा प्रदेश प्रहरी कार्यालयले छानविन समिति गठन गरेको थियो । छानविन समितिले घटनाको विषयमा बुझ्न थालिसकेको र सातदिन भित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत संलग्नता रहेको खुलेको छ । घटनापछि एकजना प्रहरी नायव निरीक्षक (सई)सहित तीनजनालाई तत्काल निलम्बनका लागि सिफारिस गरिएको थियो । प्रदेश प्रहरी कार्यालयले सीमा प्रहरी चौकी भाण्टाबारीका प्रमुख सई गंगा थापालाई निलम्बनको लागि केन्द्रीय कार्यालयमा सिफारिस गरेको थियो । थापा सुनसरीका प्रहरी उपरीक्षक कमल थापासँग सम्बन्ध जोडिएका व्यक्ति हुन् ।

यस्तै भाण्टाबारी मातहतमा रहेको अस्थायी प्रहरी चौकी कोशी कटानका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) आसनारयण माझी र श्रीपुर प्रहरी चौकीका इन्चार्ज असई टेक बहादुर कार्कीलाई निलम्बन गरिसकिएको छ । सईलाई निलम्बनका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरिएको हो भने असईमुनीका लागि प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको थियो । उनीहरुलाई निलम्बनपछि भाण्टाबारी प्रहरी चौकीमा सई दिपक कार्की, कोशी कटान प्रहरी चौकीमा असई नविन श्रेष्ठ, श्रीपुर प्रहरी चौकीमा सई वर्ष कुमार राईलाई खटाइएको थियो ।

सुनसरीको श्रीपुर, लाही, साहेबगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकाबाट तस्करी हँुँदै आएको छ । त्यहाँबाट अवैध रुपमा भित्र्याउने सामान विराटनगरसम्म आउने गरेको छ । नेपाल प्रहरी मात्रै नभई सशस्त्र प्रहरी बल बिओपी लाहीका इन्चार्ज प्रहरी निरीक्षक महेश कार्कीसहितको टोलिलाई समेत फिर्ता बोलाइएको छ ।
छानविन समिति गठन गरेपनि त्यसको पारदर्शिता र निष्पक्षताको विषयमा समेत कतिपयले कुरा उठाउने गरेका छन् । यस अगाडी मोरङको सीमावर्ती क्षेत्रबाट हुने तस्करीका लागि प्रदेश प्रहरी कार्यालयले गठन गरेको छानविन समिति नै घटनामा संलग्नसँग मिलेमतो गरेपछि निष्प्रभावि बनेको थियो । यस्तो घटनामा प्रहरी प्रधान कार्यालयले नै टोलि खटाएर छानविन गर्नुपर्ने कतिपयको सुझाव समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्