मनसुनको संभावित विपदबाट नागरिक जोगाउन सुरक्षा संयन्त्र ‘हाईअलर्ट’ उद्धारका लागि हेलिकप्टर ‘स्ट्याण्डबाई’

मनसुनको संभावित विपदबाट नागरिक जोगाउन सुरक्षा संयन्त्र ‘हाईअलर्ट’ उद्धारका लागि हेलिकप्टर ‘स्ट्याण्डबाई’

विराटनगर । मनसुन सुरु भएसँगै तराईमा बाढी र डुबान तथा पहाडमा पहिरोको जोखिममा रहेका नागरिकलाई विपद्बाट जोगाउन प्रदेश १ सरकारले पूर्वतयारी तथा प्रतिकार्यको कामलाई तिव्रता दिइएको छ । मनसुनको सुरुवातसँगै आउनसक्ने संभावित विपद् न्यूनीकरण, उद्धार तथा राहतका लागि आवश्यक पर्ने विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अन्तिम रुप दिन कार्यदल गठन गरेर योजना ल्याउने तयारीमा जुटेको हो ।

प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्राकृतिक विपत्तिको पूर्व तयारीको अवस्थामा रहन तीनै वटै सुरक्षा संयन्त्रलाई ‘हाईअलर्ट’ रहन निर्देशन गरिएको छ । विपद व्यवस्थापन कार्यकारी समितिको अध्यक्ष आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश १ प्राकृतिक विपद्को उच्च जोखिममा पर्ने भएकाले सशक्त पूर्वतयारीमा रहन आग्रह गर्नु भएको थियो ।

बाढी, डुबान र पहिरोको समस्या भएको खण्डमा त्यसको क्षति न्यूनीकरण गर्दै तत्काल उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक सहयोगका लागि नेपाली सेना समेत उद्धारमा परिचालन हुने गरी तयारी अवस्थामा रहनेछ । उद्धारका लागि हेलिकोप्टरको प्रयोग गरी विपदमा फसेका नागरिकको उद्धारका लागि सुनसरीको इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनामा हेलिकप्टर राखिने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता एवम् उपसचिव कमलबहादुर थापाले मनसुन जोखिम पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउने काम कार्यदलमार्फत भईरहेको जानकारी दिनुभयो । प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपत व्यवस्थापन परिषद र आन्तरिक मामिला मन्त्रीको अध्यक्षतामा विपद व्यवस्थापन कार्य समिति गठन गर्ने प्रावधान रहेको छ ।

प्रदेश सरकारले कुल करोडको ठूला किमिसको रबर बोट लगायतका आवश्यक सामाग्री खरिद गरेर नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उपलब्ध गराएको छ । राहतको आवश्यक तयारीका लागि विपद व्यवस्थापन प्रादेशिक गोदाम घर निर्माण गरिएको छ । प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मातहतमा जल उत्पादन प्रकोप नियन्त्रण कार्यालयको भवनमा विपदका समयमा उद्धारका लागि आवश्यक पर्ने उद्धारका सामाग्रीसहित गोदाम घर सञ्चालनमा ल्याइएको हो ।

मन्त्रालयले गोदाम घरसँगै प्रदेश विपद व्यवस्थापन आकस्मिक कोष खडा गरेर खाता सञ्चालन गरेको छ । तीन करोड संचित रकम खातामा राखिएको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले विपत व्यवस्थापन तथा उद्धार कोषका लागि थप १ करोड रुपैयाँ बिनियोजन गरेको छ । प्रदेश १ का मोरङ, सुनसरी, झापा जिल्ला बाढी र ढुवानको उच्च जोखिममा रहेका छन् । त्यसैगरी पहाडी र हिमाली जिल्लाहरु पहिरोको उच्च जोखिममा छन् ।

गएको वर्षको मनसुनमा प्रदेश १ को मोरङमा मात्र ३ करोड ३८ लाख १६ हजार, झापामा १५ लाख ७ हजार, सुनसरी ११ लाख १० हजार रुपैयाँ बराबरको क्षति बाढी र डुवानले पु¥याएको मन्त्रालयको अभिलेखमा उल्लेख छ । त्यसैगरी पहाडी जिल्ला पाँचथर १४ लाख ५० हजार, तेह्रथुम १७ लाख र उदयपुर ४ लाख पहिरोका कारण क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्