अस्पताल बनाउने जग्गामा ‘बिचौलिया’ हावी हुँदा सुनवर्षीले गुमायो १८ करोड

<span class='c1'>अस्पताल बनाउने जग्गामा ‘बिचौलिया’ हावी</span> <span class='c2'>हुँदा सुनवर्षीले गुमायो १८ करोड</span>

विराटनगर । जग्गा यकिनमा ‘बिचौलिया’ हावी हुँदा मोरङको सुनवर्षी नगरपालिकाले अस्पताल निर्माणको योजना गुमाएको छ । स्वास्थ्य मन्त्रालयले प्रत्येक पालिकामा अस्पताल निर्माणका लागि बिनियोजन गर्ने १८ करोड रुपैँया रकम सुनवर्षीमा भने जग्गा यकिन गर्न भएको अलमलमै चालु आर्थिक वर्ष कार्यन्वयनमा आउन नसकेको हो ।

स्वास्थ्य मन्त्रालयले चालु वर्ष हरेक गाउँपालिका र नगरपालिकामा १५ बेडको अस्पताल निर्माणका लागि डीपीआर निर्माणका लागि ४० लाख र भवन निर्माणका लागि १८ करोड रकम विनियोजन गरेको थियो । स्थानीय तहले अस्पताल निर्माणका लागि आवश्यक जमिन फागुन मसान्तभित्रमा उपलब्ध गर्नुपर्ने थियो । प्रावधानअनुसार मोरङका अन्य स्थानीय तहले जग्गा उपलब्ध गराएर अस्पताल निर्माण कार्य सुरु भइसकेको छ ।

नगरपालिकाको वडा ९ ले हालको नगरपालिका कार्यालय पूर्वको मुरारी सिंह र गणपत साहसहित ६ जनाको नाममा रहेको साढे १८ जग्गा उपलब्ध गराउने भन्दै असोज २९ गते स्थानीयसँग हस्ताक्षर गराइएको थियो । वडाका अध्यक्ष कमलकिशोर सिंहले अनौपचारिक रुपमा स्थानीयले जग्गा उपलब्ध गराउने विषयमा छलफल चलाएका थिए । तर, फागुनसम्म उनीहरुले नगरपालिकासँग गर्नुपर्ने सम्झौता गर्न भने नआएपछि नगरपालिकाले अर्को जग्गाको जोहो गरेको थियो । हाल नगरपालिकाको भवन निर्माण गर्न जग्गा दिने दाताहरुबाटै अस्पताल निर्माणका लागि एक बिघा ६ कठ्ठा जग्गा उपलब्ध गराउने भएपछि नगरपालिकाले सम्झौता गरेको थियो । वडा अध्यक्ष सिंहले जग्गा सम्झौता गरेको विषय आफूले नगरपालिकामा जानकारी नगराएको बताउनुभयो । आफूलाई पनि नगरपालिकाले अर्को जग्गा सम्झौता गरेको कुरा थाहा नभएको अध्यक्ष सिंहको भनाई छ ।

सम्झौतापछि वडा नम्बर ९ का वडाअध्यक्षसहित केहि बिचौलियाले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी गरेका थिए । जसको छानविन गरेको जिल्ला प्रशासनले सम्झौता भईसकेको जग्गालाई अनुपयुक्त र सम्झौता नै नभएको जग्गालाई उपयुक्त ठहर गरिदिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानविन समितिको प्रतिवेदनलाई नगरकार्यपालिकाको बैठकले अस्वीकार गरिदिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले नगरपालिकालाई पूर्वाधार कहाँ बनाउने भन्ने निर्णय गर्न दिएको अधिकार प्रयोग गर्दै अस्वीकार गरिएको सुनवर्षीका मेयर काली प्रसाद दासको भनाई छ । नगरपालिकाले जग्गादातासँग सम्झौता गरेर मन्त्रालयसँग स्वीकृति लिईसकेको जग्गालाई सिडिओ कार्यालयले अनुपयुक्त ठहर गरेको छ, मेयर दासले भन्नुभयो–पूर्वाधार कहाँ बनाउने भन्ने विषय स्थानीय सरकारको क्षेत्राधिकार भित्र पर्दछ, सम्झौता नै नभएको जग्गा उपयुक्त भन्ने ठहर गर्नु हास्यास्पद देखिन्छ ।

यस अगाडी नगरपालिकाको भवन बनाउन समेत १ बिघा ६ कठ्ठा जग्गा उपलब्ध गराउनेहरुले नै अस्पताल बनाउन समेत त्यतिनै जग्गा दिने सम्झौता गरेका थिए । सम्झौता नै नगरी जग्गा दिने मौखिक आश्वासन मात्रै बाँड्ने समूहले अहिले अख्तियारमा उजुरी गर्ने धम्की दिदैं आएको प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरेको भनाई छ । जग्गाको प्राविधिक अध्ययन समेत गरेर उपयुक्त ठहर गरिएको स्थानमा अस्पताल बनाउने योजनालाई विफल बनाउन बिचौलिया लागेको घिमिरेको आरोप थियो ।

हुलाकी सडकदेखि करिब ८ सय मिटर उत्तरमा खुर्सिद आलम, महताव आलमलगायतको नाममा रहेको जग्गा नगरपालिकाले उपयोग गर्न खोजेको थियो । उनीहरुले नै नगरपालिकाको भवन निर्माणका लागि समेत जग्गा उपलब्ध गराएपछि दुई कार्यालय नजिकै हुनेगरि अस्पताल बनाउने योजना राखिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले अधिकृत रामप्रसाद नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरेर बुझाएको छानविन प्रतिवेदन समेत पूर्वाग्राही रहेको दावी सुनवर्षीका जनप्रतिनिधिको रहेको छ । उक्त समितिले साढे १८ कट्ठामा अस्पताल निर्माण गर्न उपयुक्त भएको भन्दै एक बिघा ६ कट्ठालाई प्राविधिक रूपमा अनुपयुक्त ठरह गरेको छ । जबकी नगरपालिकाले प्राविधिक रुपमा ठहर गरिसकेको जग्गालाई छानविन समितिले प्राविधिक रुपमा कुनै काम नै नगरि त्यसै ठहर गरिदिएको आरोप जनप्रतिनिधिहरुको छ ।

जिल्ला प्रशासनले छानविन समिति बनाएको र उसले छानविन गरेको कुरा निर्णय गर्नेस्तरमा रहेको नगरपाकिलालाई जानकारी नभएको अधिकृत घिमिरेको दावी छ । कार्यपालिकाको बैठकले सिडिओ कार्यालयको प्रतिवेदन अस्वीकार गरेपछि वडा नम्बर ९ मा जग्गा दिने मौखिक सहमति गर्नेहरुले सम्झौता गर्न तयार रहेको जानकारी दिएपनि सुरुमै झमेला झिकिएको भन्दै मेयर दासले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2