विराटनगर । कोरोना संक्रमितको उपचारका लागि सरकारसँग गरेको सम्झौता विपरित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले लिएको उपचार वापतको शुल्क फिर्ता गराउन जिल्ला प्रशासन कार्यालय मोरङले कारवाही अगाडी बढाएको छ । अस्पतालको आईसीयूमा १३ दिनसम्म भर्ना गरिएका एक संक्रमितको उपचारका क्रममा मृत्युपछि आफन्तलाई अस्पताल प्रशासनले थमाएको बिल अप्रत्यासित देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले उक्त शुल्क तत्काल फिर्ता गर्न निर्देशन दिएको हो ।
सुनसरी इनरुवा–२ का रामजी महतो कुइरीको अस्पतालमा भर्ना भएको १३ दिनपछि गत जेठ ९ गते मृत्यु भएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरेको बिराटले ६ लाख भन्दा बढी बिल आफन्त नितेष महतोलाई थमाएको थियो । नितेषले अस्पतालले थमाएको बिल बराबरको रकम भुक्तानी गरेर जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमाणसहित उजुरी दिएका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बिलभरपाई अध्ययन गरेर विराटले लिएको उपचार शुल्क अनुचित रहेको ठहर गर्दै तत्काल फिर्ता गरि सोको प्रमाणसहित जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन लिखितै निर्देशन दिनुभएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाका अनुसार सरकारी कोषबाट समेत संक्रमितको उपचार वापतको रकम भराउने बिराटले बिरामीका आफन्तसँग समेत असुल गरेको देखिएपछि फिर्ता गर्न निर्देशन गरिएको जानकारी दिनुभयो ।
सरकारले संक्रमितको उपचार वापतको शुल्क बेहोर्ने गरि निजी अस्पतालसँग गरेको सम्झौताको दुरुपयोग गर्दै बिरामीका आफन्तसँग समेत रकम असुल गर्ने बिराटले संक्रमितको उपचारका नाममा आतंक मच्चाएको प्रशासनको बुझाई छ ।
पीडितले राज्यले दिएको सुविधामा उपचार गराउने अस्पतालले के, कसरी शुल्क लियो ? भन्ने कुराको अनुसन्धान गरिपाउँ भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी गरेका थिए । त्यसका आधारमा सरकारसँग गरेको सम्झौता विपरित काम गरिएको पाइएपछि शुल्क फिर्ता गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी तिम्सिनाले जानकारी दिनुभयो ।
रकम फिर्ता गरेर त्यसको प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा बुझाउन लिखित निर्देशन गरिएको छ, सहायक प्रमुख जिल्ला अधिकारी तिम्सिनाले भन्नुभयो–तोकिएको अवधीमा पैसा फिर्ता गरेर जानकारी नपठाए थप कारवाहीको प्रक्रिया बढाउँछौं ।