नक्कली कर्मचारी र पत्रकारको नाममा रकम उठाउँदै हिड्ने दुईजना पक्राउ

नक्कली कर्मचारी र पत्रकारको नाममा रकम उठाउँदै हिड्ने दुईजना पक्राउ

विराटनगर । नक्कली वन कर्मचारी र पत्रकारको भेषमा मोरङको दक्षिणी क्षेत्रमा गएर धाकधम्कीसहित रकम असुल गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ६ जुटबिकास का ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देल रहेका छन् । गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स-मिलबाट रकम उठाउन आएको बेला प्रहरीले बिशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको साथबाट नगद ३२ हजार ९ सय ९५ रुपैया, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान(१, उठाएको रकम अभिलेख भएको डायरी थान-१, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र थान-१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र थान-१, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र थान-१ बरामद भएको छ ।

बरामद भएको रकम अभिलेख डायरीमा मोरङको बिभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख गरिएको छ । उनिहरुले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ । पक्राउ परेका द्धय चौहान र सिग्देल उपर ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्